पशुपति आर्यघाटमा हरेक दिन कोभिड नभएका ४० शवको अन्त्येष्टि
एक महिनामा ११ सय कोभिड संक्रमितको शव अन्त्येष्टि
काठमाडौँ : मुलुकमा कोभिड-१९ को महामारीका कारण दैनिक डेढ सय भन्दा बढी मानिसहरूको मृत्यु भइरहेको छ । काठमाडौँ उपत्यकामा संक्रमितको शव पशुपति क्षेत्र विकास कोषको विद्युतीय शवदाह गृहमा र बागमती किनारमा अन्त्येष्टि गर्ने काम भइरहेको छ ।
मुलुकको अधिकांश जिल्ला निषेधामा छन् । सबैतर्फ कोभिड संक्रमितको मृत्युकै मात्र चर्चा छ । गत वर्षको लकडाउनमा पशुपति आर्यघाटमा शव अन्त्येष्टि गर्न आउनेको संख्यामा कमी आएको थियो । यसपटकको निषेधाज्ञामा भने 'नन कोभिड' बिरामीको पनि मृत्यु बढीरहेको छ ।
पछिल्लो समय विद्युतीय शवदाह गृहमा कोभिडका कारण मृत्यु भएकाहरूको शव अन्त्येष्टि गणना भएका समाचार विभिन्न सञ्चार माध्यममा सार्वजनिक भएका थिए । तर आर्यघाटमा पनि दैनिक नन कोभिडबाट मृत्यु भएकाहरूको शव अन्त्येष्टिमा भने कमी आएको छैन ।
वैशाख महिना आर्यघाटमा मात्र एक हजार २ सय ३ शवको अन्त्येष्टि गरेको पशुपति क्षेत्र विकास कोषका घाटसेवा केन्द्रका कर्मचारी शम्भु पौडेलले बताए । घाटमा दैनिक ४० शवको अन्त्येष्टि भइरहेको उनले जानकारी दिए । 'गत वर्षको लकडाउनमा शव अन्त्येष्टिमा कमी आए पनि यसपटक कमी आएको छैन,' उनले भने ।
जेठको पहिलो साता तीन सय बढी शवको अन्त्येष्टि भइसकेको पौडेलले बताए । अस्पतालमा मृत्यु हुनेभन्दा घरमा मृत्यु हुनेको संख्या बढिरहेको उनको भनाइ छ । घरमा मृत्यु हुनेहरू ७० वर्ष उमेरभन्दा माथिका छन् । अस्पतालमा मृत्यु भएर आउनेको संख्यामा कमी नआएको उनको दाबी छ । घाटमा २४ घण्टा सेवा उपलब्ध सेवा भइरहेको पौडेलले बताए । बिहानैको सिफ्टदेखि घाटमा शव अन्त्येष्टिका लागि शव आउने गरेको उनले प्रस्ट पारे ।
यस्तो छ शुल्क
घाटमा शव दर्ता शुल्क २ सय रुपैयाँ लाग्छ। यस्तै, वातावरण शुल्कबापत भष्मेश्वर चिता १ नम्बर देखि १० सम्म १ हजार, आर्यघाट चिता नम्बर १ र २ मा ५ हजार र चपरी खन्ने शुल्क ४ सय रुपैयाँ लाग्छ ।
बच्चा १० वर्ष सम्मको शवदाह शुल्क ७ सय र खाडल खन्ने सेवा शुल्क ७ सय रुपैयाँ लाग्छ । कोषले ठूला सन्यासी र दशनामीको शव अन्त्येष्टि गर्न खाडल खन्ने शुल्क १२ सय रुपैयाँ लिने गरेको छ।
कामपा ७,८ र ९ भित्रबाट शव बोकेर ल्याई शवदाह गर्नेलाई १५ सय, घाटदेखि ५ किलोमिटर टाढाबाट शव ल्याई अन्त्येष्टि गर्ने कामदारलाई १८ सय, ५ किलोमिटरभन्दा बाहिरबाट शव बोकेर ल्याई अन्त्येष्टि गर्नेलाई २ हजार र शव वाहनमा सहयोगी सेवा शुल्क १५ सय रुपैयाँ तोकिएको छ । घाट शाखाका अनुसार शव जलाउने व्यक्तिलाई ज्याला १५ सय र दाउरा बोक्नेलाई ६ सय रुपैयाँ दिने गरिएको छ ।
वैशाखदेखि जेठको पहिलो सातासम्ममा करिब १८ सय संक्रमितको शव अन्त्येष्टि
गत वर्षदेखि कोभिडका कारण मृत्यु भएपछि विद्युतीय शवदाह गृहमा संक्रमितको शवको अन्त्येष्टि गर्न सुरु गरिएको थियो । नेपालमा सिन्धुपाल्चोककी कोभिड संक्रमका कारण मृत्यु भएको थियो । उनको शव अन्त्येष्टि विद्यतीय शवदाह गृहमा गरिएको थियो ।
दैनिक सय संक्रमितको शव अन्त्येष्टि भइरहेको विद्युतीय शवदाह गृहका प्रमुख सुवास कार्कीले जानकारी दिए । वैशाखमा ११ सय संक्रमितको शव अन्त्येष्टि गरिएको उनको भनाइ छ । जेठ लागेपछि दैनिक १ सयको संख्यामा संक्रमितको शव अन्त्येष्टि भइरहेको उनले बताए । एक सातामा सात सय संंक्रमितको शव अन्त्येष्टि भइसकेको छ।
'वैशाखमा बढी मात्रामा वृद्ध उमेरका संक्रमितको शव अन्त्येष्टि भएको थियो,' कार्कीले भने,' पछिल्लो जेठको सुरुवातीदेखि ३० देखि ४५ वर्ष उमेर समूहका संक्रमितहरूको शव अन्त्येष्टि हुने गरेको छ ।'
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया