समाज

राजमार्ग विस्तारविरुद्ध दिनहुँ शक्ति प्रदर्शन र ध्यानाकर्षण

इकागज |
साउन १४, २०८० आइतबार १८:१४ बजे

मकवानपुर- मकवानपुरको हेटौंडा बजार क्षेत्रभित्रको राजमार्ग विस्तारको विरुद्धमा दिनहुँ शक्ति प्रदर्शनी तथा ध्यानाकर्षण गराउने कार्यलाई तीव्रता दिइएको छ ।

संघीय सरकारले राजमार्ग विस्तार गर्न लागेकाले सडक अतिक्रमित गरेर बनाइएको संरचना हटाउन दिएको म्याद सकिएको छ । साउन १६ गतेबाट राजमार्ग विस्तारका लागि सडकमा डोजर चल्ने छन् । डिभिजन सडक कार्यालय हेटौंडाले संरचना आफैँ हटाउनका लागि सरोकारवालालाई अनुरोध गरे पनि उनीहरूले भने संरचना हटाउनुको साटो शक्ति प्रदर्शन गरेका छन् ।


हेटौंडाको मुख्य बजार क्षेत्रका घरहरू बिनामुआब्जा भत्काउन नदिन उद्योगी, व्यवसायी र घरधनीहरूको शक्ति प्रदर्शन गरेका हुन् । हेटौंडाको रातोमाटेदेखि चौकिटोल सिरान क्षेत्र र रापतीरोड क्षेत्रका अधिकांश घरधनी, उद्योगी, व्यवसायीहरू, विभिन्न राजनीति दलका नेताहरूले हेटौंडाको मुख्य बजार क्षेत्रमा नारा र जुलुस गर्दै शक्ति प्रदर्शन गरेका हुन् ।

मकवानपुर उद्योग वाणिज्य संघ र हेटौंडा बसोबास संरक्षण समितिको आयोजनामा लालपुर्जा भएका घर, जग्गाहरूको क्षतिपूर्ति दिएर मात्र सडक विस्तार गर्नका लागि उनीहरूले माग गरेका हुन् । हेटौंडाको बुद्धचोकमा जम्मा भएका उद्योगी व्यवसायीहरू र घरधनीहरूले बिनामुआब्जा घर भत्काए त्यसको प्रतिकारमा उत्रने चेतावनी पनि दिएका हुन् ।

पूर्व-पश्चिम राजमार्ग अन्तर्गतको पथलैया नारायणगढ सडक खण्डको विस्तारको विषयले यति बेला हेटौंडा तातिएको छ । हरेक दिन सडक विस्तारको विषयमा कुनै न कुनै मुद्दाले चर्चा पाउने गरेको छ । कारण हेटौंडाको मुख्य बजार क्षेत्र ।

सडक डिभिजन कार्यालय हेटौंडाले पूर्व-पश्चिम राजमार्ग अन्तर्गत हेटौंडाको मुख्य बजार क्षेत्रमा सडक दायाँ, बायाँ २५ गज सडक विस्तार गर्ने भएपछि यहाँका घरधनी र व्यवसायीहरूले लालपुर्जा आफूहरूसँग भएकाले त्यसको मुआब्जा दिएर मात्र भत्काउनका लागि दबाब सृजना गरेका हुन् ।

हरेक वर्ष हेटौंडा उपमहानगरपालिकालाई कर तिर्दै आएको र त्यो लालपुर्जामा उल्लेख भएको जग्गा बिनाक्षतिपूर्ति भत्काउन नपाउने मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद गुप्ता अग्रवालले बताए । मुआब्जा विवाद र व्यवसायीको व्यवस्थापनको विषयमा हेटौंडा बजार क्षेत्रका नागरिक तथा व्यवसायीहरू सडक विस्तारको विरुद्धमा सङ्घर्षमा छन् भने ३५ दिने सूचना जारी गरेको डिभिजन सडक कार्यालय हेटौंडा सडक विस्तारका लागि साउन १५ कुरेर बसेको छ ।

कार्यक्रममा नेकपा एमाले मकवानपुरका अध्यक्ष तथा बागमती प्रदेशसभाका सदस्य एका लाल श्रेष्ठ, नेपाली कांग्रेसका नेता तथा प्रदेश सभाका सदस्य लक्ष्मी श्रेष्ठलगायतले बिनामुआब्जा हेटौंडाका घरधनी र व्यवसायीहरूलाई सुकुम्बासी बनाउन नपाइने बताए । व्यवसायीलाई क्षतिपूर्ति र घरधनीलाई मुआब्जा दिएर मात्र सडक विस्तार गर्नका लागि दुई सांसदहरूले जोड दिए ।

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा बजार क्षेत्रको घना मानव बस्तीका कारण विगत देखि नै सडक विस्तारमा समस्या हुँदै आएको थियो । हेटौंडा बजार क्षेत्रका कारणले नै पूर्व-पश्चिम राजमार्ग अन्तर्गतको पथलैया नारायणगढ सडक खण्डको विस्तार कार्य हुन सकेको छैन । दक्षिण तर्फ हेटौंडाको रातोमाटेदेखि बुद्धचोक र बुद्ध चोकबाट पश्चिम तर्फ राप्ती पुलसम्मका घरटहरा हटाउन नसक्दा सडक विस्तारमा बाधा पुग्दै आएको सडक कार्यालयका कर्मचारीहरू बताउँछन् ।


Author

थप समाचार
x