Ekagaj Logo
२३ कात्तिक २०८१, शुक्रबार
(Friday, 08 November, 2024)

समाज

भोजपुरमा डेँगी रोगीको संख्या बढ्दै, ३६ संक्रमित देखिए

इकागज |
साउन १४, २०८० आइतबार २१:४७ बजे

टक्सार (भोजपुर)- पूर्वी पहाडी जिल्ला भोजपुरमा डेँगी संक्रमितको संख्या बढ्न थालेको छ । जिल्ला स्वास्थ्य कार्यालय भोजपुरका अनुसार जिल्लामा क्रमिक रूपमा संक्रमितको संख्या बढ्न थालेको हो । 

जनस्वास्थ्य समस्याका रूपमा देखिएको डेँगीबाट भोजपुरमा ३६ जना संक्रमित देखिएको स्वास्थ्य कार्यालय भोजपुरका सूचना अधिकारी सुरेन्द्र बुढाथोकीले जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी भोजपुर नगरपालिकामा २७ जनामा संक्रमण देखिएको छ । यस्तै जिल्लाको पूर्वी पौवादुङमा गाउँपालिकामा छ, टेम्केमैयुङ गाउँपालिकामा दुई र रामप्रसाद राई गाउँपालिकामा एकजना डेँगीबाट संक्रमित छन् । 


जिल्लामा दुई नगरपालिका र सातवटा गाउँपालिका रहेका छन् । पौवादुङ गाउँपालिका, भोजपुर नगरपालिका, अरुण गाउँपालिका, आमचोक गाउँपालिकामा विषादी वितरण गरिएको छ भने अन्य पालिकाहरूलाई परीक्षणका लागि किटहरूसमेत वितरण गरिएको जिल्ला स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ । पालिकाभित्र दुई जनामा संक्रमण देखिएपछि विषादी छर्कने कार्य थालिएको टेम्कमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले बताए । 

क्रमिक रूपमा संक्रमणको दर बढिरहँदा उपचार र सचेतनामा पहुँच भने बढाउनुपर्ने जिल्लावासीको माग छ । डेँगी नियन्त्रणका लागि अझै प्रभावकारी कार्यक्रमहरू जिल्लामा सञ्चालन हुन नसकेको सामाजिक अभियानकर्मी घमचन्द्र दाहालले बताए । 'सचेतनासहित रोग नियन्त्रण गर्ने जिम्मा सरकारको हो, जिल्ला तहको सरकार भनेको स्थानीय पालिकाहरू हुन्, यिनीहरूको भूमिका प्रभावकारी हुनुपर्छ,' उनले भने । पर्याप्त किटको व्यवस्थापन गरी परीक्षणको दायरासमेत बढाउन आवश्यक रहेको उनले बताए । 

स्थानीय तहमा कार्यरत स्वास्थ्य जनशक्तिको क्षमता अभिवृद्धिमा कमी हुनु र स्वास्थ्य कार्यक्रम सञ्चालनका क्रममा विभिन्न निकायबीच देखिने गरेका दोहोरोपन तथा अस्पष्टता, तीन तहका सरकार बीचको अधिकार, कर्तव्य र जिम्मेवारीबारे समझदारी, समन्वय तथा सहकार्यको कमी जस्ता कारणले पनि स्वास्थ्य सेवाहरू प्रभावकारी बन्न नसकेको नागरिकको बुझाइ छ । 

स्वास्थ्य समस्याहरू समाधानका लागि स्थानीय तहहरूको भूमिका प्रमुख हुने बताउँदै स्थानीय युवा ज्योति पौडेलले भने, 'स्थानीय तहहरूले प्रभावकारी ढङ्गबाट रोकथाम तथा सचेतनामूलका कार्यक्रमहरू गर्न आवश्यक छ ।' 

समुदाय स्तरका स्वास्थ्य संस्थाहरूले जनताको प्रत्यक्ष सहभागितामा सरसफाइ, नागरिकका स्वास्थ्य जीवनशैली, रोग रोकथाम र स्वास्थ्य प्रवर्द्धनका कार्यक्रममा बढी समय र प्राथमिकता दिनुपर्ने औषधि व्यवसायी शान्तिराम रोकाले बताए । 'लामखुट्टेको प्रभावकारी व्यवस्थापनका साथै संक्रमित व्यक्तिको यथासम्भव चाँडो उपचार तथा व्यवस्थापनमा जुट्न आवश्यक छ,' उनले भने ।

राज्यका निकायहरू, नागरिक समाज र आमजनताले चासो लिई यो रोगको नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने भोजपुर नगरपालिका–१० का स्थानीय डा चक्रबहादुर कार्कीको भनाइ छ । उनले भने, 'डेँगी के हो र यो कसरी फैलिन्छ र यसको रोकथाम कसरी हुन्छ भन्ने चेतना जनस्तरमा हुन आवश्यक छ, प्रत्येक व्यक्तिलाई टोल र समाजमा डेँगीको स्रोत के भन्ने चेतना हुन उत्तिकै जरुरी छ ।' रासस


Author

थप समाचार
x