समाज

प्रदेशका सात अस्पताललाई शव वाहन हस्तान्तरण

इकागज |
साउन १५, २०८० सोमबार १४:२४ बजे

मकवानपुर- बागमती प्रदेश सरकारले प्रदेशको सात वटा अस्पताललाई शव वाहन हस्तान्तरण गरेको छ ।

भन्सार छुटमा खरिद गरिएका सात वटा शव वाहन टेण्डर मार्फत कुल एक करोड ८ लाख ६५ हजार रुपैयाँ लागतमा गत आर्थिक वर्षको कार्यक्रम अन्तरगत खरिद गरिएको थियो ।


बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय अन्तरगतको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र मकवानपुरले प्रदेश सरकार मातहतका सात वटा अस्पताललाई शव वाहन हस्तान्तरण गरेको केन्द्रका लेखा अधिकृत राधाकृष्ण श्रेष्ठले जानकारी दिए । स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले प्रदेश सरकार मातहतका सात वटा अस्पतालहरूलाई एक-एक वटाको दरले शव वाहन हस्तान्तरण गरेको हो ।

कैन्द्रले प्रदेशको दोलखा जिल्लाको पशुपति चौलागाई अस्पताल, रसुवा जिल्लाको रसुवा अस्पताल, रामेछाप जिल्लाको रामेछाप अस्पताललाई शव वाहन वितरण गरेको हो । यसैगरी चितवनको रत्ननगर बकुलर अस्पताल, सिन्धुपाल्चोकको चौतारा अस्पताल, सिन्धुली अस्पताल र त्रिसुली अस्पताललाई शव वाहन हस्तान्तरण गरेको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख बसन्त अधिकारीले बताए ।

खरिद गरिएका शव वाहन बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले अस्पतालका अध्यक्ष तथा प्रमुखहरूलाई हस्तान्तरण गरिएका हुन् । मन्त्री जोशीले शव वाहनहरूमा शव ओसार्दा सकेसम्म नि:शुल्क र रकम लिनै परेमा पनि थोरै रकममा ओसार्न अस्पतालहरूलाई निर्देशन दिएको बताए ।

यि अस्पतालहरूलाई केन्द्रले केही महिनाअघि अत्याधुनिक प्रविधि जडान भएको एम्बुलेन्स वितरण गरेको थियो । प्रदेश स्तरको अस्पताल भनेपछि सबै प्रकारको सेवामा दक्ष बनाउन प्रदेश सरकार लागिपरेको मन्त्री जोशीले उल्लेख गरे ।

हस्तान्तरण गरिएका शव वाहनहरूलाई व्यवस्थित रूपमा सञ्चालन गर्न पनि उनले निर्देशन दिएका छन् । कार्यक्रममा मन्त्रालयका सचिव बद्रीबहादुर खड्काले शव वाहन सञ्चालन गर्नका लागि कार्यविधि बनाएर सञ्चालन गर्ने तयारी गरिने बताए ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता दीपकप्रसाद तिवारी, स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक सतिस विष्ट लगायतकाको उपस्थिति रहेको थियो ।


Author

थप समाचार
x