धान रोपाइँ गर्न दमकल प्रयोग
पर्सा- रोपाइँको गीत गुञ्जिने बेला पर्साका खेतमा जताततै दमकल भेटिन्छन् । साउनको दोस्रो साता बित्दासमेत पानी नपरेपछि रोपाइँका लागि दमकलको भर पर्नुपरेको हो ।
किसानले खेतमा पानी लगाउन दमकलको चर्को मूल्य तिर्न बाध्य छन् । रोपिएको धान पनि हुन्छ कि हुँदैन भनेर किसान चिन्तित छन् । डिजेलबाट चल्ने दमकलको भाडा प्रतिघण्टा रु चार सय तथा बिजुलीबाट चल्नेको मूल्य प्रति घण्टा रु तीन तिर्नु परिरहेको पोखरिया–४ का सन्तोषप्रसाद चौहानले जानकारी दिए ।
गण्डक नहरमा पानी छैन । स्थानीय तहले कुलो सफा नगर्दा किसान मारमा छन् । उनीहरू दमकलको भरमा खेतमा पानी हाल्न बाध्य छन् । 'आकासे पानी अभावमा रोपाइँ गर्न ढिला हुँदा यस वर्ष बाली उत्पादन घट्ने अवस्था छ,' पर्साको जगतपुरका सुरेशप्रसाद पटेलले भने । गत वर्ष पानीको सुविधा भए पनि मल उपलब्ध नगराउँदा समस्या भएको थियो । यस वर्ष सरकारले बेलैमा मल उपलब्ध गराए पनि वर्षा नहुँदा किसानलाई समस्या भएको छ ।
पर्सामा साउनको दोस्रो साता बित्दा समेत ५० प्रतिशत मात्र धान रोपाइँ भएको कृषि ज्ञान केन्द्रका बाली विकास अधिकृत सुरेशप्रसाद चौरसियाले जानकारी दिए । ग्रामीण भेगमा आकासे पानी नपरेकाले रोपाइँ गर्न ढिला भएको र उत्पादनमा कमी आउने उनले बताए । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया