समाज

हेटौंडामा बढ्दै डेंगी संक्रमण

इकागज |
साउन १६, २०८० मंगलबार १७:९ बजे

मकवानपुर- मकवानपुरकाे हेटौंडा उपमहनागरपालिकामा डेंगीको संक्रमण देखिन थालेको छ । गत जेठ महिनाबाट देखिएको डेंगी संक्रमण साउन महिनामा मात्रै ५ जना थपिएर ९ जना पुगेको छ । डेंगीका बिरामी बढ्न थालेपछि राेकथाम र नियन्त्रणकाे तयारीमा उपमहानगरपालिका लागिपरेको जनाएको छ ।

हाल हेटौंडा उपमहानगरपालिकामा ९ जना डेंगी बिरामी उपचारका क्रममा रहेकाे उपमहानगरपालिकाले जनाएकाे छ । डेंगी संक्रमणका बिमारी बढ्दै जान थालेपछि उपमहानगरपालिकाले यसकाे नियन्त्रण तथा राेगथामका लागि भेट्रो निरीक्षक नियुक्त गर्ने तयारी गरेकाे छ । उपमहानगरभित्र डेंगी संक्रमण कम गर्नका लागि कर्मचारी नियुक्त गरेरै काम गर्न लागेको उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिए ।


उपमहानगरले नियुक्त गर्ने भेट्रो निरीक्षक डेंगी संक्रमण गराउने लामखुट्टेकाे सम्भावित बास स्थानको खोजी गर्ने र नष्ट गर्ने कार्यमा मात्र परिचालन हुने बताइएको छ । स्थानीय विपद् व्यवस्थापन समितिको बैठकले रोगको संक्रमण नियन्त्रणका लागि भेट्राे निरीक्षक नियुक्त गरेर डेंगी नियन्त्रणमा कार्य गर्ने निर्णय गरेको हो ।

उपमहानगरले डेंगी नियन्त्रणका लागि स्वास्थ्य कार्यालय र नेपाल रेडक्रस सोसाईटी मकवानपुरसँग सहकार्य गरेर नगर क्षेत्रमा अभियान सञ्चालन गर्ने जनाएकाे छ । स्थानीय विपद् समितिकाे बैठकले संक्रमणको आंकलन गरेको स्थानसहित सम्भावित ठाउँहरूमा स्प्रे गर्ने, संक्रमणमा परेका बिरामीको परीक्षणका लागि किट खरिद गर्ने र संक्रमणको खोज र नष्ट गर्नका लागि स्वास्थ्य स्वयंसेवीकासहित टोल विकास संस्थालाई परिचालन गरिने निर्णय गरेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार गत वर्ष हेटौंडा उपमहानगरपालिकामा मात्रै ४ हजार ३४३ जनामा डेंगी संक्रमण भएकाे थियाे भने मकवानपुर जिल्लामा ५ हजार ८ सय ५९ जना डेंगीका कारण बिरामी परेको थिए ।
 


Author

थप समाचार
x