समाज

गोरखापत्रमा कार्यरत १२ जना पत्रकारको तत्काल म्याद थप्न कर्मचारी संघको माग

इकागज |
साउन २३, २०८० मंगलबार १८:९ बजे

काठमाडौँ- गोरखापत्रमा कार्यरत १२ जना पत्रकारको तत्काल म्याद थप गर्न कर्मचारी संघले माग गरेको छ ।

गोरखापत्र संस्थान कर्मचारी संघले मंगलबार विज्ञप्ति जारी गर्दै  भनेको छ, 'संस्थानका संवेदनशील सूचनाहरू जिम्मेवार ठाउँबाट प्रेसलाई वितरण गर्ने, आधारहीन विषयमा हस्त लिखित उजुरी गरेर कार्य वातावरण धमिल्याउने दुष्कार्य भइरहेको पाइएको छ ।'


यस्तै गोरखापत्र संस्थानका सल्लाहकार सम्पादक उपेश महर्जनमाथि पनि संघले प्रश्न गरेको छ । विज्ञप्तिमा भनिएको छ, 'मन्त्रिपरिषदबाट सल्लाहकार पदमा नियुक्त भएका उपेश महर्जन मर्यादा र आचरण पालन नगरी छुट्टै स्वार्थ समूह बनाई अशोभनीय र अमर्यादित कार्य गरेको सुनिएकाले यो संघ उक्त दुष्प्रयासप्रति घोर भर्त्सना गर्दै तत्काल बन्द गर्न सचेत गराउँछ ।'

महर्जन करिब डेढ दशक संस्थानमा अति सामान्य जिम्मेवारीमा रहेका व्यक्ति संस्थानकै गरिमामय पदमा मन्त्रिपरिषदबाट नियुक्ति पाउनु गौरव र सम्मानको विषय हुनुपर्ने जनाएको छ । सोही अनुसार मर्यादित प्रयत्नहरू गरिनु पर्नेमा राष्ट्रिय राजनीतिको बाध्यात्मक परिस्थितिले अनिवार्य बनेको गठबन्धनमा उक्त सरकारले गरेको निर्णयमाथि नै गम्भीर प्रश्न खडा हुने काम तत्काल र पूर्ण रूपमा बन्द गर्न संघले अनुरोध गरेको छ । महर्जनलाई गत जेठ १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त पदमा नियुक्त गरेको थियो ।  

संस्थानमा विगत लामो समयदेखि करार सेवामा कार्यरत करिब २०० जना कर्मचारीका बारेमा संस्थानकै कर्मचारीको उजुरीलाई आधार मानेर राष्ट्रिय सतर्कता केन्द्रले छानबिन गर्ने नाममा १२ जनाको करार अन्त्य गर्न र संस्थानका ५ जना पदाधिकारी/कर्मचारीलाई कारबाही गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्राचार गरेको विषयमा संघले गम्भीर ध्यानाकर्षण भएको भएको जनाएको छ ।

जटिल विषयमा गहन रूपमा छानबिन पश्चात् निर्देशन गरिनुपर्नेमा अत्यन्त हतारमा निर्देशन दिएका विषय प्रेसहरूमा छताछुल्ल हुनुले एकातर्फ सम्मानित संस्थानको भूमिकामा प्रश्न गर्नुपर्ने अवस्था निम्त्याएको छ भने अर्कोतर्फ संस्थानका इमान्दार कर्मचारीको मर्यादामा आँच पुगेको संघको निष्कर्ष छ ।

विज्ञप्तिमा भनिएको छ, 'संस्थानमा केही समयदेखि अनुशासनहीनता बढ्दै गएको छ । संस्थानका संवेदनशील सूचनाहरू जिम्मेवार ठाउँबाट प्रेसलाई वितरण गर्ने, आधारहीन विषयमा हस्त लिखित उजुरी गरेर कार्य वातावरण धमिल्याउने दुष्कार्य भइरहेको पाइएको छ । यसमा व्यवस्थापनले छानबिनर कडा कारबाही गर्न सख्त जरुरी छ । संस्थानका सम्पूर्ण पदाधिकारी/पत्रकार/कर्मचारी सबैलाई संयमताका साथ अधिकार सँगसँगै कर्तव्य निर्वाह गर्नसमेत हार्दिक अपिल गर्दछौं ।'


Author

थप समाचार
x