शिक्षा विधेयकविरुद्ध निजी विद्यालय संगठनहरूको विरोध प्रदर्शन
काठमाडौँ- शिक्षा क्षेत्रलाई निरुत्साहित गर्ने गरी सरकारले शिक्षा सम्बन्धी ऐन अघि बढाउन खोजेको भन्दै निजी विद्यालय संगठनहरूले काठमाडौँमा विरोध प्रदर्शन गरेका छन् ।
विद्यालय क्षेत्र सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० ले निजी लगानीको शिक्षा क्षेत्रलाई निरुत्साहित गर्ने भन्दै नेसनल प्याब्सन, हिसान र प्याब्सनले बिहीबार संयुक्त रूपमा काठमाडौँको माइतीघरमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरूले शिक्षामा समान अवसर, अवसरमा समान पहुँच, विधेयक कसले र कसका लागि बनायौं ?, विभेदको अन्त्यका लागि शिक्षा हो भने शिक्षामा विभेद किन गर्छौं लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
प्रस्तावित विधेयकले कम्पनी मार्फत सञ्चालित विद्यालयहरूलाई ५ वर्षभित्र गुठीमा रूपान्तरण र दायित्व फरफारकको विषयलाई समावेश गरेको यसले निजी लगानीको शिक्षा क्षेत्र धराशायी हुने भएकाले विरोध गर्नुपरेको प्याब्सनका अध्यक्ष डीके ढुंगानाले बताए । गुठीमा भएका विद्यालयहरूले नै दु:ख पाएको अवस्थामा कम्पनीमा रूपमा रहेका विद्यालयलाई गुठीमा रूपान्तरण गर्न उचित नहुने उनले बताए ।
शिक्षा सम्बन्धी विधेयकप्रति विरोध जनाउँदै उनीहरूले चरणबद्ध आन्दोलन नै घोषणा गरेका छन्, जसअनुसार असार २६ गते अन्तरक्रिया गर्ने, २७ गते समीक्षा गर्ने र २८ गते देशैभर अनिश्चितकालीन विद्यालय बन्द गर्ने उनीहरूले जनाएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया