समाज

संखुवासभा कैदी मृत्यु प्रकरण : कारागार प्रमुख र सुरक्षाकर्मीहरूविरुद्ध किटानी जाहेरी

इकागज |
साउन २७, २०८० शनिबार १६:२ बजे

संखुवासभा :  संखुवासभा कारागारमा दुईजना कैदीको मृत्यु भएको प्रकरणमा मृतकका आफन्तले कारागार प्रमुख र सुरक्षाकर्मीहरूका विरूद्ध प्रहरीमा किटानी जाहेरी दिएका छन् ।

जिल्ला कारागारका निमित्त प्रमुख राजेन्द्र घिमिरे र कारागार सुरक्षा प्रमुख प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी लगायत अन्य सुरक्षाकर्मीहरूका विरुद्ध पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालय संखुवासभामा शनिवार उजुरी दर्ता गराएका हुन् ।


दुवै मृतकका परिवार सदस्यलाई एड्भोकेसी फोरम–नेपालका अधिवक्ता कुमार प्रसाद थपलियाले जाहेरी दर्खास्त तयार पार्न कानूनी सहयोग गरेका हुन् । जिल्ला कारागार संखुवासभामा दुईजना कैदीको बुधवार बिहान कुटपिटबाट मृत्यु भएको थियो । निर्घात कुटपिटबाट मृत्यु भएका कैदीहरू संखुवासभाको मादी नगरपालिका–५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामी हुन् । मृतक कैदीहरूको शवपरीक्षण शनिवार गर्ने प्रमुख जिल्ला अधिकारी शिव कार्कीले जानकारी दिएका छन् । 


Author

थप समाचार
x