समाज

न्यायिक समितिमा उजुरी : घरको कोठा खाली गराइदिनू

इकागज |
साउन २८, २०८० आइतबार १४:७ बजे

काठमाडौं– काठमाडौं महानगरपालिकाको न्यायिक समितिमा उजुरी दिनेहरूको संख्या बढेको छ । न्यायिक समितिमा उजुरी दिनेहरूमध्ये अधिकांश उजुरी पसलहरू बन्द गर्न, सटर, कोठा खाली गराइदिन लगायतका उजुरी दिनेहरूको संख्या बढ्दै गएको हो ।

काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले न्यायिक समितिमा पछिल्लो समय उजुरी दिनेहरूको संख्या बढेको बताइन् । उनले पसलहरू बन्द गर्न, सटर खाली गरिदिन, कोठा खाली गराइदिन मान गर्दै उजुरीहरू पर्ने गरेको उल्लेख गरिन् । उनले न्यायिक समितिको इजलासमा प्रत्येक १० उजुरीमा ८ वटा उजुरीहरू बन्द गराइदिन र खाली गराइ पाउँ भन्ने किसिमले पर्ने गरेको बताइन् ।


न्यायिक समितिमा आएका उजुरीलाई हेर्दा काठमाडौंमा यस किसिमका संकेत देखिन राम्रो नभएको बताइन् । उनले यस्ता घटना बढ्नु भनेको अर्थतन्त्त चलायमान हुन नसक्नु रहेको जनाइन् ।

उपप्रमुख डंगोलले महानगरपालिकाले बजार अनुगमन र मूल्यांकनलाई तिब्रता दिने बताइन् । ‘नीति, कार्यक्रम र बजेटलाई प्रभावकारी बनाउनका लागि अनुगमन र मूल्यांकन अत्यावश्यक भएकाले बजार र योजना अनुगमनलाई प्राथमिकतामा राखेका छौं,’ उनले भनिन्, ‘महानगरपालिकाले शिक्षा, स्वास्थ्य खाद्यान्नसँगै योजना अनुगमनको पाटोलाई पनि प्रमुख विषय बनाएर अघि बढिरहेको छ ।’ उपमेयर डंगोलले स्थानीय सरकारले हरेक उपभोक्ताले उपभोग गरिरहेको कुरा ठिक छ भन्ने विश्वास गर्ने वातावरण दिनसक्नुपर्ने बताइन् ।

(न्युज एजेन्सी नेपालसँगकाे कुराकानीमा आधारित)


Author

थप समाचार
x