समाज

मुस्ताङमा तत्काल सहयोग पठाउने गण्डकी प्रदेशको निर्णय

इकागज |
साउन २९, २०८० सोमबार १४:५४ बजे

पोखरा- मुस्ताङका बाढी प्रभावितलाई गण्डकी प्रदेश सरकारले सहयोग पठाउने निर्णय गरेको छ । प्रदेश सरकारले मुस्ताङको बारागुङ मुक्ति क्षेत्र कागबेनीमा भेलबाढीबाट विस्थापित, प्रभावित नागरिकलाई तत्काल सहयोग पठाउने निर्णय गरेको हो ।

आइतबार रातिको बाढीले कागबेनी क्षेत्रका घरहरू बगाउँदा सर्वसाधारण विस्थापित भएपछि दैनिकी असहज बनेको भन्दै गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार बिहान प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको आकस्मिक बैठक राखेका थिए ।


मुख्यमन्त्री पाण्डेले उनीहरूको उद्धार, उपचार, राहत र पुनःस्थापनाको काम प्रदेश सरकारले सुरु गरेको बताउँदै सरकारी, गैरसरकारी संघ संस्था, सुरक्षा निकाय, नागरिक समाज सबैलाई नागरिकको सुरक्षामा केन्द्रित हुन अनुरोध गरे ।

मुख्यमन्त्री पाण्डेको अध्यक्षतामा बसेको उक्त बैठकले राहत व्यवस्थापन र बाढीबाट भत्किएको संरचना व्यवस्थित गर्न मेसिन उपकरण तथा सवारी साधनका लागि मुस्ताङमा इन्धन अभाव भएपछि ३ हजार लिटर डिजेल म्याग्दीबाट तत्काल पठाउने निर्णय गरेको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति मुस्ताङबाट माग भई आए अनुसार प्रदेश सरकारले टेन्ट, त्रिपाल, ब्ल्यांकेट पठाउने, बाढीपहिरो क्षेत्रमा हुन सक्ने खानेपानी आपूर्ति, स्वास्थ्य सेवा, खाद्यान्न आपूर्ति, यातायात व्यवस्थापन, कृषि र पशुजन्य क्षति व्यवस्थापन, भूसंरक्षण लगायतका कार्यहरूमा गण्डकी प्रदेश सरकारका सम्बन्धित मन्त्रालयहरूबाट आवश्यक समन्वय, स्रोत साधनको परिचालन र सहजीकरण गर्न बैठकले निर्देशन गरेको छ ।

मौसम प्रतिकूल भएकाले हेलिकप्टरबाट कागबेनीमा राहत पठाउन समस्या भएपछि तत्कालका लागि ट्याक्टरबाट इन्धन, कम्बल, टेन्ट लगायतका सामग्री पठाउने निर्णय बैठकले गरेको हो ।


Author

थप समाचार
x