भारतमा भारी वर्षाका कारण कम्तीमा २४ जनाको मृत्यु
देहरादून- भारतमा अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा २४ जनाको मृत्यु भएको छ । मृतकमध्ये नौ जनाको मन्दिर भत्किँदा मृत्यु भएको छ भने दर्जनौं बेपत्ता भएको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।
केही दिनदेखिको मुसलधारे वर्षाका कारण उत्तरी राज्य उत्तराखण्ड र हिमाञ्चल प्रदेशमा सवारी साधन बगाएको छ, भवन र पुलहरू भत्किएका छन् ।
बाढी र पहिरो सामान्य कुरा हो र यसले भारतको जोखिमपूर्ण मनसुनको मौसममा व्यापक विनाश निम्त्याउँछ । विशेषज्ञहरूका अनुसार जलवायु परिवर्तनले यसको आवृत्ति र गम्भीरता बढाइरहेको छ ।
सबैभन्दा बढी प्रभावित राज्य हिमाञ्चल प्रदेशका मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले पछिल्लो २४ घण्टामा कम्तीमा १६ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । “स्थानीय प्रशासनले अझै फसेका व्यक्तिहरूको उद्धार का लागि भग्नावशेष हटाउन लगनशीलताका साथ काम गरिरहेको छ,” मुख्यमन्त्रीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
सुखुले स्थानीय बासिन्दालाई घरभित्रै बस्न र नदी नजिक नजान आग्रह गर्नुभएको छ । प्रभावित हिमाञ्चल राज्यका विद्यालयहरू बन्द गरिएको उनले बताए ।
छिमेकी राज्य उत्तराखण्डमा भारी वर्षाका कारण पहिरो जाँदा मानिसहरू पुरिएको आशङ्कामा उद्धार टोलीहरू भग्नावशेष हटाउन निरन्तर खटिरहेका छन् ।
राज्यमा शुक्रबारदेखि अहिलेसम्म कम्तीमा आठ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
मनसुनले दक्षिण एसियामा वार्षिक वर्षाको करिब ८० प्रतिशत वर्षा ल्याउँछ र यो कृषि र लाखौंको जीविकोपार्जनका लागि महत्वपूर्ण छ । तर यसले हरेक वर्ष पहिरो र बाढीको रूपमा विनाश पनि ल्याउँछ । (रासस-एएफपी)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया