Ekagaj Logo
२३ कात्तिक २०८१, शुक्रबार
(Friday, 08 November, 2024)

समाज

दोलखा पहिरो : छोराको शव भेटियो, बाबु अझै बेपत्ता

इकागज |
साउन २९, २०८० सोमबार १५:५८ बजे

दोलखा । अविरल वर्षाका कारण आइतबार दिउसो आएको भेलले बगाउँदा दोलखाको विगु गाउँपालिका–७ राखामका बाबुछोरा बेपत्ता भएकामा छोरा पासाङ शेर्पाको शव भेटिएको छ । आइतबार बिहान घरबाट झण्डै एक घण्टाको दूरीमा रहेको तीनपाटेमा निगुरो टिप्न गएका ३५ वर्षीय बाबु निमदोर्जे शेर्पा र उनका छोरा १२ वर्षीय पासाङलाई वर्षासँगै आएको पहिरोको भेलले बगाउँदा बेपत्ता भएका थिए । निमदोर्जे अझै फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षक राजेश सिग्देलले बताए ।    
    
आइतबार १२ बजेतिर तीनपाटेमा निगुरो टिप्ने क्रममा अविरल वर्षासँगै माथिबाट आएको भेलले बाबुछोरोलाई अम्बाटोल मुलखोलाले बगाए पछि उनीहरू बेपत्ता भएका थिए । उनका अनुसार बाबु शेर्पा नभेटिए पनि छोरा पासाङ भने हिजो साँझ नै भेटिएका थिए ।    
    
सो घटनापछि प्रहरी घटनास्थल पुगेर खोजी सुरु गरेको थियो । अविरल वर्षा जारी रहेकाले खोजीकार्यमा कठिन भएको प्रहरीको भनाइ थियो । यो सातामा मात्रै अविरल वर्षाका कारण गत मङ्गबार तामाकोशी नदीमा तितेमाछा टिप्न गएका विगुगापा–२ ओराङका तिरिस तमाङको माथिबाट झरेको पहिराले ज्यान गएको थियो ।    
    
त्यस्तै गत बिहीबार गौरीशङ्कर गाउँपालिका–७ मार्बु टोपाटारमा गएको पहिरोमा परी सोही स्थानका ५० वर्षीय देवीमाया मगर र १५ महिने नाबालक प्रिन्स थामीको मृत्यु भएको थियो भने सोही स्थानको पहिरोमा परेका स्थानीय ६० वर्षीय कृष्ण मगर र ४९ वर्षीय हरिला श्रेष्ठ अझै फेला नपरेको प्रहरीको भनाइ थियो ।



Author

थप समाचार
x