समाज

अनसनरत व्यक्तिहरूको मानव अधिकारको रक्षा गर्न सरकारलाई आयोगको आग्रह (पूर्णपाठ)

इकागज |
साउन ३२, २०८० बिहीबार १४:१५ बजे

फाइल फाेटाे

काठमाडौँ– धनुषाकी आरती साहको मृत्युको घटनाका दोषीलाई शीघ्र कारबाही हुनुपर्ने माग राखी अनसनरत व्यक्तिहरूको मानव अधिकारको रक्षा गर्न राष्ट्रिय मानव अधिकार आयोगले नेपाल सरकारलाई आग्रह गरेको छ । 

विगत लामो समयदेखि काठमाडौँस्थित माइतीघर मण्डलामा दोषीलाई कानुनी कारबाहीको माग राखी निरन्तर अनसनमा रहेका व्यक्तिहरूको मानव अधिकार अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगले ध्यानाकर्षण जनाउँदै नेपाल सरकारलाई उक्त आग्रह गरेको हो ।  


दोषीलाई कानुनी कारबाहीको मागको विषय न्याय र मानव अधिकारसँग प्रत्यक्ष सरोकारको विषय भएकाे र यस सम्बन्धमा आयोगले निरन्तर अनुगमन गरिरहेको आयोगका सहसचिव एवम् प्रवक्ता डा. टीकाराम पोखरेलले जानकारी गराएका छन् । 

शीघ्र कारबाही हुनुपर्ने माग राखी करिब दुई महिनादेखि मृतक साहका आफन्तहरू र वैवाहिक बलात्कारको आरोपका दोषीलाई प्रभावकारी कारबाहीको माग गर्दै आरती रावल अनसन बसिरहेको, वर्षाकाे समयमा निरन्तर अनसनमा बसेका कारण अनसनरत व्यक्तिहरूको स्वास्थ्य र दैनिक खानपानमा समेत समस्या भएको आयोगको अनुगमनले बताएको छ । 

अनसनरत पक्षहरूको माग सम्बोधनका लागि हालसम्म सरकारका निकायबाट कुनै पनि पहल नभएको पीडितहरूको गुनासो रहेको छ । 

निरन्तर अनसनका कारण व्यक्तिको स्वास्थ्यमा पर्नसक्ने जोखिमप्रति संवेदनशील हुँदै संवादको माध्यमबाट समस्याको समाधान गर्नुपर्ने आयोगले जनाएको छ । 


Author

थप समाचार
x