समाज

मिटरब्याजमा सुनसरी जिल्ला प्रशासनको सफलता

चार करोड बढीको दाबी एक करोडमा सल्टियो !

इकागज |
साउन ३२, २०८० बिहीबार १२:४२ बजे

काठमाडौँ- मिटरब्याजविरुद्धको सुनुवाइमा सुनसरी जिल्ला प्रशासनले ठूलो सफलता हात पारेको छ ।

जिल्ला प्रशासन कार्यालयमा परेको चार करोड ६० लाख दाबीसहितको मिटरब्याजीविरुद्धको उजुरी सुनसरी प्रशासनले एक करोड १० लाखमा टुङ्ग्याएको हो । आफू पीडित भएको भन्दै प्रशासन पुगेका धरानका इन्द्र मोक्तानको उजुरी उपरको अनुसन्धान र छानबिनलाई टुङ्ग्याउँदै प्रशासनले पीडित पक्षलाई न्याय दिलाएको हो ।


पीडित मोक्तानका अनुसार उनले चार वर्ष अघि धरानकै मणिराज राईबाट ५४ लाख ब्याजमा लिएका थिए । आफूसँग दोहोरो कागज गराइएको बताउने मोक्तानले चेक बाउन्ससमेत गराई चार करोड ६० लाख दाबी गरिएपछि मिटरब्याजमा उजुरी हालेको बताए । मोक्तानले मिटरब्याजका कारण तनावपूर्ण अवस्था निम्तेपछि सरकारले ल्याएको अध्यादेश बमोजिम न्यायको मागसहित सुनसरी प्रशासनमा उजुरी हालेको बताए ।

उजुरी उपर छानबिन पश्चात प्रशासनबाट आफूले न्याय पाएकोमा खुसी उनले व्यक्त गरे ।

यता, सुनसरी प्रशासनले उक्त उजुरी छानबिन गरी टुङ्ग्याएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले प्राप्त कागजात र यथेष्ट प्रमाणका आधारमा मिटरब्याजीविरुद्धको उजुरी उपर छिनोफानो गरी टुङ्ग्याइएको बताइन् । प्रजिअ पाण्डेले उजुरीसँग सम्बन्धित यथेष्ट प्रमाण जुटाउन सके पीडितले सहजै न्याय पाउने बताइन् ।

प्रजिअ पाण्डेले जिल्लामा पाँच सय बढी मिटरब्याजका उजुरी परेको र छानबिनको क्रममा रहेको समेत जानकारी दिइन् ।

जिल्ला प्रशासन कार्यालयबाट अहिले दुई सयभन्दा बढी उजुरीहरूको छानबिन गरिरहेको बताइन् । 


Author

थप समाचार
x