समाज

सेफ्टी ट्यांकीमा खसेर मृत्यु भएको हात्तीको हिन्दु परम्परा अनुसार अन्त्येष्टि

इकागज |
साउन ३२, २०८० बिहीबार १८:९ बजे

कैलाली- बिहीबार सेफ्टी ट्यांकीमा खसेर मृत्यु भएको जंगली हात्तीको हिन्दु परम्परा अनुसार अन्त्येष्टि गरिएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले हात्तीको अन्त्येष्टि गरेको हो ।

हिन्दु धर्मावलम्बीहरूले हात्तीलाई गणेश भगवानका रूपमा पुज्ने गर्छन् । त्यसैले पूजाआजा गरेर हात्तीको अन्त्येष्टि गरिएको निकुञ्ज कार्यालयले जनाएको छ । शुक्लाफाँटा नगरपालिका–७ स्थित वातावरण मध्यवर्ती सामुदायिक वनको कार्यालय परिसरमा रहेको सेफ्टी ट्यांकीमा बिहीबार राति फसेर हात्तीको ज्यान गएको थियो ।


हात्ती करिब ३५ देखि ४० वर्षको वयस्क पोथी रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोर मेहताले जानकारी दिए । उनले झुण्डबाट छुट्टिएर एक्लै हिँडेको हात्ती करिब १२ बजेतिर चर्पीको सेफ्टी ट्यांकीमा परेको हुनसक्ने बताए ।

प्रमुख मेहताका अनुसार राति ११ बजेसम्म सुरक्षा गार्ड त्यही रहेको र त्यसपछि मात्रै हात्ती आएर सेफ्टी ट्यांकीमा परेको हुनसक्छ । 

मरेको  हात्तीको सोही स्थानमा अन्त्येष्टि गरिएको बताउँदै प्रमुख मेहताले दुई वटा डोजरले खाल्डो खनेर हिन्दु परम्पराअनुसार पूजाआजा गरी अन्त्येष्टि गरिएको बताए ।


Author

थप समाचार
x