सामूहिक दुर्घटना बीमाबाट कर्णालीवासीले पाए साढे तीन करोड बढी रकम
फाइल तस्बिर
सुर्खेत- प्राकृतिक प्रकोपका विभिन्न घटनामा परि मृत्यु भएका कर्णालीका एक सय ८१ जनाका परिवारले सामूहिक जोखिम दुर्घटना बीमाबाट साढे तीन करोड रकम प्राप्त गरेका छन् ।
पछिल्लो तीन वर्षको अवधिमा विभिन्न प्राकृतिक प्रकोपका घटनामा परि मृत्यु भएका परिवारले कर्णाली सरकारले गरिदिएको सामूहिक जोखिम दुर्घटना बीमाबाट साढे तीन करोड बढी रकम प्राप्त गरेका हुन् । उनीहरूले ३ करोड ६२ लाख रकम पाएका हुन् ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार प्रकोपबाट मृत्यु भएका प्रतिपरिवारलाई दुई लाखका दरले रकम उपलब्ध गराइएको छ ।
कर्णाली प्रदेश सरकारले २०७६ सालमा प्रदेशका सबै नागरिकको सामूहिक दुर्घटना जोखिम बीमा गरिदिएको थियो । कर्णाली प्रदेशका कुनै पनि नागरिकको प्रकोप या प्राकृतिक विपदबाट निम्तिने दुर्घटनाले मृत्यु भएमा २ लाख रुपैयाँ पाउने र उक्त रकम राष्ट्रिय बीमा कम्पनीले उपलब्ध गराउने गरेको आन्तरिक मामिला मन्त्रालयका विपद् व्यवस्थापन शाखा प्रमुख कृष्णबहादुर रोकायले बताए ।
उनका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा विभिन्न प्राकृतिक प्रकोपमा परि मृत्यु भएका ५९ जनाका परिवारले बीमा रकम पाएका छन् भने आर्थिक वर्ष २०७८/०७९ मा ५८ जनाका परिवारले बीमा रकम पाएका छन् । त्यसैगरी आर्थिक वर्ष २०७९/०८० मा ६४ जनाले सामूहिक दुर्घटना बीमाबाट रकम दिइएको रोकायले जानकारी दिए ।
राष्ट्रिय बीमा कम्पनीसँग सम्झौताअनुसार कर्णालीका करिब १७ लाख जनसंख्याको सामूहिक बीमा सरकारले गरिदिएको छ । एक व्यक्ति बराबर ९ रुपैयाँ पर्ने गरी सरकारले नै नागरिकको बीमा गरिदिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया