समाज

सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समितिको मस्यौदा तयार

इकागज |
भदौ ५, २०८० मंगलबार १४:१४ बजे

काठमाडौं– सुन तस्करी छानबिनका लागि बनाउने उच्चस्तरीय समितिको प्रारम्भिक मस्यौदा पनि तयार भएको छ ।

मंगलबार बिहान सिंहदरवारमा बसेको प्रमुख तीन दलका नेताहरु सम्मिलित कार्यदलले सो उच्चस्तरीय छानबिन समितिको मस्यौदा तयार पारेको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार (हिजो) बोलाएको सर्वदलीय बैठकमा सरकार सो प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति बनाउन सहमत भएपछि एमाले उपाध्यक्ष सुवाषचन्द्र नेम्वाङ, काँग्रेस प्रमुख सचेतक रमेश लेखक र माओवादी केन्द्रका प्रमुख सचेतक हीतराज पाण्डे रहनुभएको कार्य दललाई त्यसको मस्यौदा तयार पार्ने जिम्मेवारी दिएको थियो । सोही जिम्मेवारी अनुसार आफूहरुले त्यसको मस्यौदा तयार पारेको र अब केहीबेरपछि बस्ने सर्वदलीय बैठकमा पेस गर्न लागिएको माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डेले बताए ।


प्रमुख प्रतिपक्ष दल एमालेले पछिल्लो सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग राख्दै गत साउन १० गतेदेखि संसद बैठक अवरुद्ध हुँदै आएको थियो । हिजो सोमवार बसेको बैठकमा भने सत्तापक्ष सो समिति बनाउन सहमत भएपछि दलहरुले त्यसको मस्यौदा तयार पार्न कार्यदलनै गठन गरेका थिए ।

अब बस्ने सर्वदलीय बैठकले सो मस्यौदामाथि छलफल गरी सो समितिको कार्यादेश र संरचना टुंगो लगाएपछि संसद बैठक सुचारु हुने नेताहरुले बताएका छन् ।


Author

थप समाचार
x