पाँचखालमा ‘कम्युनिभर्सिटी’ को पहिलो संस्करण
समुदाय, उद्योग र शैक्षिक संस्थालाई जोडेर विद्यार्थीहरूको सिकाइलाई समाज र सीप उन्मुख बनाउने उद्देश्य
काठमाडाैं । समुदाय, उद्योग र शैक्षिक संस्थालाई जोडेर विद्यार्थीहरूको सिकाइलाई समाज र सीप उन्मुख बनाउने उद्देश्यले पाँचखालमा आयोजना भएको कम्युनिभर्सिटी समर प्रोग्रामको पहिलो संस्करण सम्पन्न भएको छ ।
पाँचखाल नगरपालिका र किङ्स कलेजको संयुक्त आयोजनामा असार ३ गतेदेखि सुरु भएको ‘कम्युनिभर्सिटी समर प्रोग्राम’ को दीक्षान्त समारोह यही साउन ३२ गते सम्पन्न भएको हो । सर्वमंगला बहुमुखी क्याम्पसमा सन्चालित फेलोसिपमा पाँचखाल नगरपालिकाका १२ र अन्य जिल्लाका ७ गरी जम्मा १९ जना विद्यार्थी सहभागी भएका थिए ।
सहभागी विद्यार्थी मध्ये भगवती माध्यमिक विद्यालयबाट अगिल्लो शैक्षिक सत्रमा कक्षा १२ को परीक्षा दिएर बसेकी छात्रा मोनिका लामाले आफ्ना प्रधानाध्यापकले भनेपछि यस कलर्सको आवेदन भरेकी थिइन्। छनोेट भएर यस कोर्स पुरा गरेकी लामालाई उत्कृष्ट मार्कसिट प्राप्त गर्नु मात्र सिकाइ नभएको बताउँदै पढेको कुरालाई व्यवहारमा उतार्न सक्नु पर्ने रहेछ भन्ने लागेको छ। दुई महिनाको अनुभूति सुनाउँदै उनी भन्छिन्, ‘साथीहरूसँग मिलेर गरेको काम र त्यसबाट प्राप्त ज्ञान सबैभन्दा ठूलो धन रहेछ।’
काठमान्डौंबाट सहभागी भएका सौरभ काफ्ले यस कोर्षमा आवद्ध हुनुअगाडि ग्रुपमा बोल्न डराउँथे, तर उनी यस कार्यक्रममा सहभागी भएपछि आफूलाई समुदायको नजिक ल्याएको अनुभव भएको छ। उनले समुदाय र उद्योगका विभिन्न व्यक्तिहरूसँगको अन्तरक्रियाले समाज हेर्ने आफ्नो दायरा फराकिलो भएको बताए।
किङग्स कलेजबाट विद्यार्थीहरूको मेन्टर र सहजकर्ताको रूपमा दुई महिना विद्यार्थीसँगै पाँचखालमा रहेकी भावना श्रेष्ठ समुदाय, उद्योग र एकेडेमिया बीचको साझेदारी शिक्षाको लागि अत्याधिक लाभदायक भएको बताउँछिन् । उनले दुई महिना आफैँमा त्यति धेरै समय नभए पनि यो सहकार्यले विद्यार्थीहरुमा छोटो समयमै उनीहरुको सिकाई अनुभवको वृद्धि हुँदै व्यवहारिक ‘एक्सपोजर’ प्रदान भएको बताइन । ‘समाजमा रहेका चुनौतीहरुको ज्ञानसँगै चुनौतीलाई सामना गर्न अनुसन्धान लगायतका अन्य अपरिहार्य सीपहरूको विकासमा विशेष सहयोग पुगेको छ।’–उनले भनिन, यो कार्यक्रमले विद्यार्थीहरूको भावनात्मक परिपक्वता विकास भएको छ।’
पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले पाँचखालका मुद्दाहरूमा विद्यार्थीहरूले अनुसन्धान र अध्ययन गरेर प्राप्त गरेको ज्ञान नगरपालिकाको लागि ठूलो उपलब्धि भएको बताए । ‘शिक्षाको हब बनाउने उद्देश्य बोकेको पाँचखाल नगरपालिकालाई यस्तो सहकार्य एक मानकको रूपमा स्थापित भएको छ, उनी भन्छन्– ‘शिक्षामा नवीनतम प्रयास गर्ने यो हाम्रो एक कदम हो। हामी अझै पहलहरू गरेर यसलाई नीतिगत तहबाट नै संस्थागत गर्दै जानेछौं।’
फिनल्याण्डस्थित कयानी युनिभर्सिटी अफ एप्लाइड साइन्सेस र अमेरिकास्थित वेस्टक्लिफ युनिभर्सिटीले स्वीकृत गरेको यस अन्तर(संकाय कोर्स डाटा साइन्स, उद्यमशीलता र समाजशास्त्रको सेरोफेरोमा डिजाइन गरिएको हो। यस कोर्स डिजाइन र कार्यान्वयनमा राष्ट्रिय वाणिज्य बैंक, एफ वान सफ्ट, फुडमान्डु, कारखाना र काठमान्डौ अर्ग्यानिक्स उद्योग साझेदारका रूपमा सहभागी थिए।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया