समाज

मेलम्चीमा बाढी : विद्यालयकाे शाैचालय बगायाे, ठाउँ-ठाउँमा सडक अवरुद्ध

इकागज |
भदौ ८, २०८० शुक्रबार ८:२५ बजे

काठमाडौं– चार दिनदेखिको अविरल वर्षाका कारण सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची क्षेत्रमा बाढीले क्षति गरेको छ । वर्षाका कारण मेलम्ची नदीमा बाढी आउँदा करिडोरमा क्षति पुगेको हो ।

बाढीले सडक तथा खेतीयोग्य जमिन कटान गरेको छ । नदीमा आएको बाढीका कारण मेलम्ची–हेलम्बु सडक यातायात अवरुद्ध भएको छ । त्यस्तै  हेलम्बुमा रहेको एक विद्यालयसमेत जोखिममा परेको गाउँपालिका उपाध्यक्ष अप्सरा लामिछानेले जानकारी दिइन् । उनकाअनुसार हेलम्बु–४ स्थित सरस्वती माध्यमिक विद्यालयको शौचालय खोलामा परिणत भएको छ भने कक्षाकोठा उच्च जोखिममा परेको हो । प्रधानाध्यापक कुमार घोरासैनीले जोखिमका कारण आज विद्यालयमा पढाई बन्द गरिने बताए ।


‘विद्यालयका फर्निचरलगायतका सामान सारिएको छ ।’ उनले भनिन् । लगातारको वर्षाले बाढी नरोकिँदा व्यापारिक बजार ग्याल्थुम बजारसमेत जोखिममा रहेको उनले बताइन् ।

ठाउँ–ठाउँमा बाढीले सडक कटान गरेका कारण यातायात अवरुद्ध बनेको स्थानीय श्याम चालिसेले जानकारी दिए । उनकाअनुसार मेलम्ची–हेलम्बु सडक खण्डअन्तर्गत सिम खेतमा सडक अवरुद्ध भएको छ । हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाले सडक खुलाउने प्रयास गरे पनि निरन्तरको वर्षाले कठिनाई भइरहेको हो ।
 


Author

थप समाचार
x