समाज

धरानका मेयर हर्कले भने: सामाजिक, सांस्कृतिक सद्भावलाई संरक्षण गरी विविधताबीचको एकता खोजौँ

इकागज |
भदौ ८, २०८० शुक्रबार १३:३९ बजे

फाइल तस्बिर

काठमाडौँ- धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले समाजमा देखिने अशान्ति विभेदले विचार, विधि र व्यवहारमा स्थान पाएमा सामाजिक अवस्था खल्बलिने बताएका छन् । शुक्रबार विज्ञप्‍ति जारी गर्दै उनले अन्तरविरोध बढाइ प्रतिशोध र द्वन्द्वलाई निम्त्याउने उल्लेख गरेका छन् ।

‘नकारात्मकतालाई सकारात्मकतामा परिणत गर्न सयौँ थुँगा फूलका हामी एउटै माला नेपाली भन्ने भावनालाई आत्मसात गर्दै हाल देखिएको अशान्तिमय वातावरण सबैले संयमित र संवेदनशील भएर सबै पक्ष, समुदाय र हरेक नागरिकको भावना प्रतिविम्बित हुनेगरी आपसी सदभाव, भाइचार र एकता कायमका लागि सम्पूर्ण आम धरानवासीहरूमा अनुरोध गर्दछु,’ उनले विज्ञप्‍तिमार्फत भनेका छन् ।


बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतालाई आत्मसात गरी विविधता बीचको एकता सामाजिक, सांस्कृतिक सद्भावलाई संरक्षण गरी समृद्ध समाजको निर्माण गर्नु सबैको कर्तव्य रहेको उनले बताएका छन् ।

पछिल्लो समय धरानमा गोरुको मासु खाएको भन्दै विरोध भइरहेको छ । विभिन्‍न धार्मिक र जातजातिका समूहले आ-आफ्नो मत राख्दै आएका छन् । धरानमा कुनै साम्प्रदायिक दंगा नहोस भनेर सबैले चासो राख्दै आएका छन् । केही दिन अघि पूर्व नगर प्रमुखहरूले एक विज्ञप्ति निकाली एक-आपसमा समझदार बढाएर सामाजिक सदभाव राख्‍न अपिल गरेका थिए ।


Author

थप समाचार
x