मानव बेचबिखन नियन्त्रणमा थप प्रभावकारी कदम चाल्न निर्देशन
फाइल तस्बिर
काठमाडौँ- प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले मानव बेचबिखन नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न निर्देशन दिएका छन् ।
मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलको निरीक्षण भ्रमणपछि आज आयोजित समारोहमा उनले ब्यूरोले गरेको कामको प्रशंसा गर्दै अझै समन्वयात्मक रूपमा प्रभावकारी ढङ्गबाट कार्यसम्पादन गर्न निर्देशन दिए ।
मानव तस्कर तथा बेचबिखन अपराधका गतिविधि बढ्दो क्रममा रहेको र त्यसको प्रकृति पनि फरक देखिएकाले सोहीअनुसार रणनीति तय गरी परिचालित हुन पनि उनले आग्रह गरे । प्राप्त जनशक्ति र प्रविधिको भरपूर उपयोग गरी नतिजा निकाल्ने गरी काम गर्न उनले निर्देशन दिए ।
महानिरीक्षक कुँवरले तस्करी नियन्त्रणमा अन्य सरोकार राख्ने निकायसँग समन्वयात्मक ढङ्गबाट काम गर्नुपर्नेमा जोड दिए । मानव बेचबिखन संवेदनशील विषय भएको र नेपाली धेरै विदेशमा काम गर्न जाने हुँदा सेवाग्राहीलाई गर्ने व्यवहार पनि सेवाग्राहीमैत्री हुनुपर्नेमा उनले जोड दिए । पछिल्लो समय वैदेशिक रोजगारीका नाममा बेचबिखनका घटना बढिरहेकाले त्यसतर्फ सचेत हुन पनि उनले आग्रह गरे ।
सो क्रममा ब्यूरोका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले ब्यूरोले गरेका कामकारबाही र प्रगति विवरण प्रस्तुत गरेका थिए । उनले वैदेशिक रोजगारीका नाममा मानव बेचबिखन भइरहेको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया