समाज

धनगढीमा प्रहरी स्कुलकी एक शिक्षिका मृत फेला, प्रेमी कोट्टारी पक्राउ

इकागज |
भदौ ८, २०८० शुक्रबार २०:४२ बजे

कैलाली- कैलालीको धनगढीमा प्रहरी स्कुलकी एक शिक्षिका मृत फेला परेकी छिन् । बिहीबार धनगढी उपमहानगरपालिका–३ चटकपुरमा २२ वर्षीया शिक्षिका राजेश्वरी डडाल मृत अवस्थामा फेला परेकी हुन् । दार्चुलाको मार्मा गाउँपालिका–६ घर भएकी ती शिक्षिकाले धनगढीस्थित दिपेन्द्र प्रहरी स्कुलमा पढाउँदै आएकी थिइन् ।

घटनामा संलग्नताको आंशकामा २५ वर्षीय जगदिश कोट्टारीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालले शिक्षिका डडाल मृत भेटिएको घटनामा पीडित पक्षले दिएको किटानीका आधारमा कोट्टारीलाई पक्राउ गरिएको बताए ।


चटकपुरमा आफन्तको घरमा बस्दै आएकी डडाल घरभन्दा करिब डेढ सय मिटर उत्तरतर्फ मृत अवस्थामा फेला परेकी थिइन् । मृतक र पक्राउ परेका कोट्टारी प्रेम सम्बन्धमा थिए । कोट्टारी विवाहित हुन् ।  

डडालले आफ्नो मृत्युको कारण प्रेमी नै भएको भन्दै दिदी र आमाको नाममा अन्तिम सन्देश छाडेको सुसाइट नोट प्रहरीले फेला पारेको छ ।

उनले प्रेमीले आफ्नो श्रीमती बन्न ‘शारीरिक सम्बन्ध’ बनाउन दबाब दिएको समेत उक्त नोटमा उल्लेख गरेकी छिन् । ‘म पनि उसको हरेक कुरालाई साँचो मान्दै गएँ, उपहार पाएँ मृत्यु । सबै दिदी ममीलाई धेरै माया गर्छु तर जताउन सकिनँ । बदनाम भएर पनि म किन बाच्नु हैन र,’ राजेश्वरीले सुसाइड नोटमा लेखेकी छिन्, ‘सरी दिदी ममी, हजुरहरूको राम्रो चिताउँछु तर मैले के गरेँ ?’

मृतकका परिवारले कोट्टारीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा आत्महत्या दुरुत्साहनमा किटानी जाहेरी दिएका थिए ।


Author

थप समाचार
x