धरानमा २४ घण्टे निषेधाज्ञा जारी, सामाजिक सद्भाव कायम गर्न नगर प्रमुख राईको अपिल
इनरुवा (सुनसरी)- सुनसरीको धरान उपमहानगरपालिकामा धार्मिक/साम्प्रदायिकका साथै जनस्वास्थ्य सङ्कट तथा शान्ति सुरक्षाको संवेदनशीलताका कारण जिल्ला प्रशासन कार्यालय सुनसरीले २४ घण्टे निषेधाज्ञा जारी गरेको छ ।
आज राति १२ बजेदेखि लागू हुने गरी २४ घण्टे निषेधाज्ञा जारी गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताइन् । उनका अनुसार निषेधाज्ञा आदेश शनिबार राति १२ बजेसम्मका लागि जारी गरिएको छ ।
उनले धरान उपमहानगरपालिकाका २० वटा वडामा मात्रै १५ हजार व्यक्तिमा डेंगी सङ्क्रमण फैलिएकाले उपमहानगरपालिकालाई ‘जनस्वास्थ्य आपत्कालीन अवस्था’ क्षेत्र घोषणा गरिएकाले जारी गरिएको निषेधाज्ञा उल्लङ्घन नगर्न अनुरोध गरेकी छिन् ।
धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिम बाटो बराह क्षेत्र नगरपालिका–१ मा पर्ने झण्डा चोकदेखि धरानतर्फको क्षेत्र, धरान प्रवेश गर्ने पश्चिम–दक्षिण रामधुनी नगरपालिका–६ बाट बराह क्षेत्र नगरपालिका–३ नडाहा चोकबाट धरानतर्फको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो ।
त्यसैगरी इटहरी उपमहानगरपालिका–२० तरहरा पानीपियादेखि उत्तर धरानतर्फको क्षेत्रमा पनि प्रशासनले निषेधाज्ञा जारी गरेको छ । त्यसैगरी धरान उपमहानगरपालिका–५ प्रवेश गर्ने पूर्वी केराबारीबाट धरानतर्फको क्षेत्र र धनकुटा जिल्ला साँगुरीगढी–६ भेडेटारबाट धरानतर्फको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम शुक्रबार राति १२ बजेदेखि शनिबार राति १२ बजेसम्म अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गरी बाहेक सामूहिक रूपमा गरिने सामाजिक, धार्मिक, राजनीतिक सभा, र्याली/भेला गर्न रोक लगाइएको छ । प्रशासनले प्रदर्शनलगायत कुनै पनि कार्यक्रम नगर्न÷नगराउन धरान उपमहानगरपालिका क्षेत्रभित्रका सबै सरोकारवालालाई आग्रह गरेको छ ।
आदेश विपरीत भए गरेको पाइए वा अटेर गरेको पाइएमा स्थानीय प्रशासन ऐन, २०२८ अनुसार कारबाही गरिनेछ आदेशमा उल्लेख छ ।
यसैबीच धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईले आपसी सद्भाव, भाइचारा र एकता कायमका लागि धरान नगरवासीमा अपिल गरेका छन् । नगर प्रमुख राईले आज एक अपिल प्रकाशित गर्दै समाजमा देखिने अशान्ति विभेदले विचार, विधि र व्यवहारमा स्थान पाउँदै गएमा सामाजिक अन्तरसम्बन्ध खल्बलिने उल्लेख गरेका छन् ।
उनले अपिलमा कुनै पनि प्रकारको सामाजिक अन्तरसम्बन्ध खल्बलिने गतिविधि नगर्न अनुरोध पनि गरेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया