बलान नदीको बाँध भत्किँदा सयौं घर डुबानमा
फाइल तस्बिर
सप्तरी- निरन्तरको वर्षासँगै शुक्रबार नदीमा आएको बाढीले सप्तरीको बलान विहुल गाउँपालिका–४ वेल्ही नवका टोलस्थित बलान नदीको बाँध भत्किँदा सयौं घर डुबानमा परेका छन् ।
बाँध भत्किएर नदीको बाढी बस्तीमा पस्दा १ सयभन्दा बढी घर डुबानमा परेका हुन् । नदीको बाँध तीन ठाउँमा भत्किएर बस्तीमा बाढी पस्दा स्थानीयको जनजीवन प्रभावित भएको छ ।
स्थानीयका अनुसार दुई ठाउँमा ५०–५० मिटर र एक ठाउँमा सय मिटर जति बाँध भत्किएपछि बाढी आएको हो ।
गुणस्तरीय रूपमा बाँध निर्माण नहुँदा बाँध भत्किएपछि यस क्षेत्रका जनतालाई बर्सेनि बाढीको समस्या भोग्दै आएका छन् ।
बाँध भत्किएपछि सप्तरीका प्रमुख जिल्ला अधिकारी किरण थापासहितका टोलीले स्थलगत निरीक्षण गरेको छ । निरीक्षण गर्दै प्रजिअ थापाले बाढी पसेका बस्तीका जनताको सुरक्षाका लागि सशस्त्र र नेपाल प्रहरीको टोली खटाइएको बताए ।
बाढीले थप क्षति नहोस् भनि बाँध भत्किएसँगै सशस्त्र र नेपाल प्रहरीको टोली खटाएको प्रजिअ थापाले जानकारी दिए । उनले तत्कालै गर्नुपर्ने कार्य गरिसकेको थप यस विषयमा सरोकारवालासँग समन्वय गर्ने बताए ।
टोलीमा उप अनुसन्धान निर्देशक सुरेन्द्र कोइराला, सप्तरीका प्रहरी प्रमुख नरेन्द्रकुमार कार्की, सशस्त्र प्रहरी उपरीक्षक तिर्थराज पौडेल, जलश्रोत तथा सिँचाइ विकास डिभिजनका प्रमुख रमणकुमार साह लगायतको उपस्थिति थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया