बेनी–जोमसोम सडक तीन दिनपछि पुनः सञ्चालनमा
फाइल तस्बिर
म्याग्दी- म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा तीन दिनपछि यातायात पुनः सञ्चालन भएको छ ।
गत बुधबारदेखि अवरुद्ध भएको ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडकको सिधा यातायात सेवा शनिबार अपराह्नदेखि पुनः सञ्चालन भएको हो । बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ गुइँठे, सुकेबगर, खामभित्ता, दुवारी क्षेत्रमा खसेको पहिरो पन्छाएर यातायात सञ्चालन गरिएको जानकारी दिए ।
'पाँच दिनको प्रयासपछि गत बुधबार दिउँसो खुलेको सडक साँझ पानी परेपछि पुनः अवरुद्ध भएको थियो,' उनले भने, 'वर्षात रोकिएर मौसममा सुधार भएपछि डोजर र मजदुर परिचालन गरेर सडक खुलाएका हौँ ।'
कालीगण्डकीको कटान, कमजोर भूगोल, भूमिगत पानीको उचित व्यवस्थापन नहुनु र शाखा सडकका कारण झरेको पहिराेले जलथले–दुवारी खण्डको सडक क्षतविक्षत बनाएको छ । जलथले र दाना क्षेत्रमा रोकिएका सवारी साधनहरू गन्तव्यतर्फ लागेका छन् ।
जिल्ला प्रशासन कार्यालयले बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दी खण्डमा अत्यावश्यक काममा बाहेक यात्रा नगर्न आग्रह गरेको छ । पहिराेका कारण सडक अवरुद्ध हुँदा यात्रुहरू अलपत्र पर्ने र दुर्घटनाको जोखिम बढेपछि शुक्रबार सार्वजनिक सूचना जारी गरेर बेनीदेखि दाना खण्डमा अति आवश्यक काम नपरी यात्रा नगर्न आग्रह गरेको हो ।
म्याग्दीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले सडक अवरुद्ध हुँदा तीर्थयात्रा र भ्रमणका लागि स्वदेशी तथा विदेशी पर्यटकले दुःख पाएकाले बाध्य भएर मौसममा सुधार र सडक सहज नहुँदासम्मका लागि यात्रामा नआउनका लागि आग्रह गरेको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया