Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

समाज

बागमती सभ्यता

शुरज थपलिया |
भदौ १०, २०८० आइतबार २०:७ बजे

दक्षिणतर्फ ललितपुर र पूर्वतर्फ भक्तपुरको मध्ये भागमा इतिहासदेखि नै सम्पन्न र समृद्ध रहेको सहरको नाम हो 'काठमाडौँ' । सारा नेपालीको आकर्षणको केन्द्र, अनुपम भौगोलिक अवस्था, रहस्यपूर्ण जैविक विविधता, धार्मिक सहिष्णुता र उच्च सामाजिक मानव सम्बन्ध रहेको यो सहर एकता र सद्‌भावको छानामुनि रहेको छ । विभिन्न सांस्कृतिक, धार्मिक र आर्थिक पृष्ठभूमिका धेरै मानिसहरूको घर भएको सहर 'काठमाडौँ' को इतिहास लगभग २००० वर्ष पुरानो रहेको छ ।

काठमाडौँ सहरको प्रमुख विशेषता भनेको यसको मुटुबाट बग्ने बागमती नदी हो जसले नेपाली समाजको सांस्कृतिक, धार्मिक र ऐतिहासिक सभ्यता बोकेको छ । बागमती नदी काठमाडौँ उपत्यकाबाट बग्ने प्रमुख नदी हो । यसलाई नेपाली जनताको पवित्र नदी मानिन्छ र यो उनीहरूको धार्मिक र सांस्कृतिक प्रचलनको महत्वपूर्ण अंग हो । धेरै महत्वपूर्ण मन्दिरहरू र धार्मिक स्थलहरू यस नदीको किनारमा अवस्थित छन् जस्तै पशुपतिनाथ मन्दिर (विश्वको सबैभन्दा महत्वपूर्ण हिन्दु मन्दिरहरू मध्येको एक) , गोकर्णेश्वर महादेव मन्दिर, गुह्येश्वरी मन्दिर आदि । सहरको भीडभाडको बीचमा शान्त वातावरण प्रदान गर्ने बागमती नदीको प्रवाहले काठमाडौँको सुन्दरता बढेको छ र बगिरहेको पानीको आवाजले सुखदायी र आनन्दमय वातावरण सिर्जना गर्दछ ।


तर, वर्षौंदेखि बागमती नदी प्रदूषण, वन फँडानी,अव्यवस्थित औद्योगिकीकरण र सहरीकरणका कारण वातावरणीय ह्रासको सामना गर्दै आएको छ । जसको फलस्वरुप नदी अत्यधिक प्रदूषित हुनका साथै मानिसहरूको स्वास्थ्य र नदीको पारिस्थितिक प्रणाली दुवैलाई असर गरिरहेको छ । नेपाल सरकारको बागमती नदीको सफाइ र पर्यावरण सन्तुलन पुनःस्थापनाका लागि विभिन्न पहलमा पछिल्लो समयमा निर्माण गरिएको ढल प्रशोधन प्लान्टहरू, नदी सफाइ अभियानहरू , भूनिर्माण, पार्कहरूका निर्माण, नदी किनारमा औद्योगिक र व्यावसायिक गतिविधिहरूको नियमन समावेशले बागमती नदी विकास र सुरक्षाको निम्ति सबैभन्दा ठूलो राहत प्रदान गरेको छ ।

केही दशक अघि विकासका प्रयासलाई वर्तमान सन्ततिको सुख र समृद्धिसँग मात्र जोडेर हेर्ने गरिन्थ्यो । सञ्चार, यातायात, विद्युत् आदि जस्ता सुविधाको विस्तारलाई विकासको सङ्केतका रूपमा लिइन्थ्यो तर यसले प्राकृतिक सन्तुलनमा पारेको असरप्रति खासै खोजीनिती गरिँदैनथ्यो । मानिसले आफू सुखी तथा सम्पन्न रहनका लागि सभ्यताको क्रम सँगसँगै विभिन्न किसिमका कामहरू गर्दै आएका छन् । यस क्रममा प्राकृतिक साधनको उपयोग गरी आफ्ना आवश्यकता पूरा गर्दा प्रकृतिमाथि दबाब सिर्जना गरिरहेको छ । वर्तमान समयलाई मध्ये नजर गर्दै नेपाल सरकारको सहरी विकास मन्त्रालय अन्तर्गत अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले निकालेको ठेक्कामा दिगो विकास र वातावरणीय व्यवस्थापनको सबल महत्वपूर्ण रूपमा उठाएर विकास र समृद्धिलाई चिरस्थायी बनाउने प्रयास गरिएको छ । दिगो विकासको प्रयासले भूमि, जल, प्राणी तथा वनस्पति स्रोतको संरक्षण गर्दछ । त्यस्तै गरी वातावरण विनाश नहुने प्राविधिक, आर्थिक तथा सामाजिक रूपले स्वीकार्य हुन्छ ।

 नेपाल सरकारको सहरी विकास मन्त्रालय, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति गुहेश्वरी, काठमाडौँ अन्तर्गत Landscaping Improvement Works along Bagmati River Banks: Uttargaya, Gokarna, Guheshwori & Thapathali to Balkhu , ठेक्का नम्बर: BRBIP-AF/01W/2019  को निर्माण व्यवसायी श्री नान्टोङ–आशिष–समानान्तर जे.भी. ले रु १,१२,७१,११,८९३.९० मा कबोल गरी मिति २०७६ साउन २८ मा सम्झौता गरी कार्य थालनी भएको थियो । बागमती नदी सुधार जस्ता परियोजनामा काम गर्नु देशका लागि धेरै इनामदायी अनुभव साबित हुनेछ ।

यस परियोजनाले देशको ठूलो इतिहास बोकेको छ । आजभन्दा २ दशक अघि यु.एन. पार्कमा र थापाथली पुलमुनि काँडे तार लगाउने, ढुङ्गाको वाल लगाउने जस्ता विविध कार्य भएको थियो र आज झन्डै २ दशकपछि सोही स्थानमा नयाँ प्रविधि, स्रोत–साधन, दक्ष जनशक्ति, नयाँ उन्नत प्राविधिक उपकरणहरू, अन्तर्राष्ट्रिय पर्यावरण अनुकूल डिजाइनका साथ भएको कार्यले नेपाल सरकारको सहरी विकास मन्त्रालयको भूमिका र महत्वबारे आम जनता माझ राम्रो छवि बनाउन सफल भएको छ ।

 

नेपाल एक विकासोन्मुख देश हो र यस प्रकारका आयोजनाहरूले देशको हितमा ठूलो योगदान प्रदान गरेको छ । बागमती खोलाका दुवै तिरमा सोलारबाट चल्ने बिजुली बत्ती, पार्क , फुटपाथ, भकारी, घाट, सार्वजनिक शौचालय, वृक्षारोपण, भूनिर्माण जस्ता कार्यले सौन्दर्यता बढाउने काम गर्नुका साथै काठमाडौँ क्षेत्रको मुहार समेत परिवर्तन गरेको छ । यस परियोजनाले नदीको पारिस्थितिक स्वास्थ्य पुनःस्थापना, जलीय प्रजातिहरूको बासस्थानमा सुधार र उक्त क्षेत्रको जैविक विविधतामा सकारात्मक प्रभाव पर्नेछ । यस परियोजनाले नदि र यसको सांस्कृतिक महत्वबारे थप जान्न इच्छुक पर्यटकहरूलाई आकर्षित गर्नेछ र स्थानीय उद्यमीहरूका लागि नयाँ व्यापार अवसरहरू सिर्जना गरी अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्नेछ ।

देशमा भएको आर्थिक संकट, बाढी, २ पटक सम्म फैलिएको कोभिड–१९ को लहर , नाकाबन्दी, निर्माण सामग्रीहरूको अभाव बाबजुद पनि उक्त ठेक्काको निर्माण कार्य समयमा नै सम्पन्न गरी हस्तान्तरण भइसकेको छ । निर्माण कार्यकालमा भावी पुस्तालाई फाइदा हुने आशा गरी प्राचीन मूर्ति र संरचनाहरूलाई जोगाएर संरक्षण गरिएका छन् र भकारी, पाटी–पौवा जस्ता विविध संरचनाहरूको निर्माण भएको छ । यी संरचनाहरूले इतिहास र विकासमा महत्वपूर्ण अन्तदुष्टि प्रदान गर्न र  अनुसन्धान तथा शिक्षाका लागि बहुमूल्य ज्ञान हुन सक्छ । आयोजनाको दीर्घकालीन आवश्यकता र दिगोपनलाई ध्यानमा राखी आयोजना अवधिमा निर्माण भएका पूर्वाधार र सुविधाहरूले भावी पुस्ताका लागि लाभ प्रदान गर्नेछ ।


 

नेपालमा बागमती नदी परियोजना दिगो विकासको एउटा उदाहरण हो जसले देशलाई धेरै फाइदा पुर्याउन सक्छ । निष्कर्षमा भन्नुपर्दा नेपालमा बागमती नदी परियोजनाले देशलाई वातावरणीय, आर्थिक, सामाजिक र दिगो विकास लगायत धेरै फाइदाहरू ल्याउन सक्छ । दिगो विकास अभ्यासलाई प्रवर्द्धन गरेर आयोजनाले देशको दीर्घकालीन विकास र समृद्धिमा योगदान पुर्याउन सक्छ । निकट भविष्यमा यस्ता धेरै दिगो र पर्यावरणमैत्री आयोजनाहरूको आवश्यकता छन् र यसले देश तथा नयाँ पुस्तालाई निकै फाइदा हुनेछ ।
     
    


Author

थप समाचार
x