समाज

निर्माणाधीन बौद्ध मोनास्टिकमा बुद्धलाई समेट्न सांसद चौधरी लुम्बिनी भ्रमणमा

इकागज |
भदौ ११, २०८० सोमबार १४:४२ बजे

लुम्बिनी । नेकपा एमालेकी सांसद भगवती चौधरीले गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गरेकी छिन् । छिट्टै निर्माण हुन लागेको गढदेव बौद्ध मोनास्टिकमा कसरी भगवान गौतम बुद्धको ऐतिहासिकता, धार्मिकतालाई समावेश गर्न सकिन्छ भनेर लुम्बिनी र तिलौराकोटको स्थलगत अध्ययन गरेकी हुन् । उनले सुनसरी निर्वाचन क्षेत्र नं. ३ गढी गाउँपालिकामा बौद्ध मोनास्टिक निर्माण कार्य अगाडी बढाई रहेकी छिन् ।

पूर्वमन्त्री समेत रहेकी सांसद चौधरी लुम्विनीको मायादेवी मन्दिर तथा तिलौराकोटको राजा सुद्धोधनको दरबार क्षेत्रकोसमेत अवलोकन गरिन् ।


सो अवसरमा सांसद चौधरीले भगवान गौतम बुद्धको जन्मस्थलबाट नेपाललाई धार्मिक पर्यटकीय मुलुक बनाउँदै विश्वभरबाट पर्यटन भित्र्याएर देश विकास गर्न सकिने पनि बताइन् । तिलौराकोटको राजा सुद्धोधनको दरबार क्षेत्र अवलोकन गर्दै लुम्बिनी विकास कोषले दरबारको संरक्षण, उत्खनन र प्रवद्र्धनमा ध्यान दिनुपर्ने बताइन् ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाले शान्तिका अग्रदूत भगवान गौतम बुद्धले दिएको ज्ञान र उपदेशलाई विश्वभर फैलाउन र लुम्बिनीको बृहत्तर विकासका लागि आफु काम गर्ने बताउँदै सुनसरी क्षेत्र नं. ३ मा निर्माण हुन गइरहेको गढदेव बौद्ध मोनास्टिकको निर्माणमा आवश्यक सल्लाह र सहयोग गर्ने बताए ।
भ्रमणमा चौधरीले लुम्बिनी बृहत्तर विकास क्षेत्रका मोनास्टिक, सम्राट अशोकको स्तम्भ, तिलौराकोटको संरक्षित दरबार क्षेत्र, जोडी स्तुप, ऐतिहासिक जगदिशपुर ताल लगायतका क्षेत्रहरुको अवलोकन गरेकी थिइन् ।


Author

थप समाचार
x