समाज

सप्तकोशी पुलमाथि गाडी छाडेर चिकित्सक बेपत्ता

इकागज |
भदौ ११, २०८० सोमबार १७:११ बजे

विराटनगर- मोरङको उर्लाबारीस्थित मदन भण्डारी ट्रमा सेन्टरमा कार्यरत सर्जन डा.प्रज्वल कोइराला सोमबार विहानदेखि बेपत्ता भएका छन् ।

झापाको दमक नगरपालिका–१ का ३८ वर्षीय डा.कोइराला सुनसरी र उदयपुर जोड्ने चतरास्थित सप्तकोशी नदीको पुलको उदयपुरतर्फ आफ्नाे गाडी छाडेर बेपत्ता भएका हुन् । उनको झोला, जुत्ता र कपडाहरू गाडीभित्रै फेला परेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए । गाडीभित्र विराटनगरको लाइफगार्ड हस्पिटलका केही कागजपत्र समेत भेटिएको जनाइएको छ ।


डा.कोइरालाले ट्रमा सेन्टरले साउन २९ मा करार सेवामा विशेषज्ञ चिकित्सक पदको परीक्षामा उत्तीर्ण गरेर अस्पतालमा सेवा सुरु गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार डा.कोइरालाले चढेको प्रदेश १–०२–००२ च ४१६६ नम्बरको कार उदयपुरको बेलका नगरपालिका–८ तर्फ अलपत्र अवस्थामा फेला परेको हो । 

उदयपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक हरिनन्दन चौधरीका अनुसार कार छाडेर बेपत्ता भएका कोइराला कोशी नदीमा हामफालेको अनुमानका आधारमा नदी आसपासका क्षेत्रमा खोजी भइरहेको जनाइएको छ । उनको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर समेत परिचालन गरिएको जनाइएको छ ।

सोमबार विहान स्थानीयवासीले बेवारिसे अवस्थामा कार देखेपछि प्रहरीलाई खबर गरेको जनाइएको छ । सप्तकोशी पुलमा जडित सीसीक्यामेराले डा. कोइराला सोमबार विहान करिब २ बजेतिर पुलमा आएको देखिएको छ ।

उनी कहाँ बेपत्ता भए भन्नेबारे अहिले नै यकिन जानकारी नभएको प्रहरीले जनाएको छ । त्यसका लागि खोजी सुरु गरिएको जनाइएको छ ।


Author

थप समाचार
x