समाज

सिन्धुलीबाट २० किलो अवैध चाँदीसहित दुईजना पक्राउ

इकागज |
भदौ १२, २०८० मंगलबार १९:४५ बजे

सिन्धुली- बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–५ खनियाँखर्कबाट मंगलबार २० किलोग्राम अवैध चाँदीसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरी चौकी गढीबाट खटिएको प्रहरी टोलीले विराटनगरबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२५ च १०६९ नम्बरको कारमा लुकाई छिपाई राखेको २० किलोग्राम अवैध चाँदीसहित दुई जनालाई पक्राउ गरेको हो ।


बरामद गरिएको चाँदीको हालको मूल्य २४ लाख ६१ हजार ७६० रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका– ५ बस्ने रोहितकुमार यादव र सप्तरीको राजविराज नगरपालिका –८ घर भई विराटनगर महानगरपालिका– ४ बस्ने ३७ वर्षका शेरचन मानन्धर रहेका छन् ।

नियन्त्रणमा लिएको चाँदी थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक केशव कटुवालले जानकारी दिए ।


Author

थप समाचार
x