संस्कृतविद् जगमान गुरुङ नेपाल ऋषिको उपाधिसहित महासंघको वरिष्ठ सल्लाहकारमा मनोनीत
काठमाडौँ- विश्व हिन्दु महासंघले संस्कृतविद् डा. जगमान गुरुङलाई नेपाल ऋषिको उपाधिसहित महासंघको वरिष्ठ सल्लाहकारमा मनोनीत गरेको छ । सामाजिक सद्भाव र धार्मिक सहिष्णुताका लागि विश्व हिन्दु महासंघको चुनौती विषयक प्रवचन गोष्ठीमा डा गुरुङलाई उपाधिसहित सम्मान गरिएको हो । समाजसेवी शोभित उप्रेतीको सकृयतामा दोलखाको चरणावती त्रिवेणीधाम विकास प्रवर्द्धन संघले डा. गुरुङलाई नेपाल ऋषिको उपाधि प्रदान गरेको थियो । महासंघले यसलाई अनुमोदन गरेको हो ।
सम्मान ग्रहण गर्दै डा गुरुङले ७७ वर्षपछि पुन: न्वरान गरिदिएको भन्दै महासंघप्रति आभार प्रकट गरे । उनले आगामी जीवन सामाजिक कल्याणमा लाग्ने बताए । उनले धर्म संस्कृतिको व्याख्या विश्लेषणसहित राष्ट्रको हितका लागि लाग्ने बताए । डा. गुरुङले नेपालको सद्भाव कायम राख्न र्यालीभन्दा पनि धर्म र संस्कृतिको व्याख्या गर्ने बेला आएको बताए । नेपाल आध्यात्मिक केन्द्रका रूपमा विश्वमा परिचित भएको भन्दै त्यसको अध्ययनमा लगाउन सुझाव दिए ।
कार्यक्रममा राप्रपाका पूर्वअध्यक्ष एवम् सांसद पशुपति शमसेर जबराले मात सिता र बुद्धको देश भएको भन्दै नेपालको सद्भावलाई कसैले खलल पुर्याउन नसक्ने बताए । धार्मिक रूपमा एकता भौगोलिक रूपमा विविधता भएको स्वर्ग भूमिका ठूला दलले भ्रष्टाचार घुस खोरीले दूषीत पार्न खोजेको भन्दै आक्रोश व्यक्त गरे । उनले नेपालको सद्भावनामा कसैले खलल गर्न नसक्ने पनि दाबी गरे ।
सोही कार्यक्रममा विश्व हिन्दु महासंघका उपाध्यक्ष एवं पूर्वमन्त्री दिनबन्धु अर्यालले नेपालमा धार्मिक सहिष्णुतामा खलल पुर्याउने प्रयत्न भएको भन्दै त्यसलाई रोक्न सबै लाग्नु पर्ने धारणा राखे । धरानमा भएको गौ हत्या र मन्दिर अघि चर्च निर्माण भएको विषय उल्लेख गर्दै गोरु काटेर खानेले माफी गर्नु पर्ने बताए ।
कार्यक्रममा सहभागी वक्ताहरूले सामाजिक सद्भाव र धार्मिक सहिष्णुतामा खलल पुर्याउने काम भएको भन्दै त्यसको विरुद्धमा ऐक्यबद्धता जनाएका छन् । जसमा जैन सेवा समिति, कृष्ण प्रणामी सेवा समिति, विभिन्न मठ मन्दिरका मठाधिसहरूले ऐक्यबद्धता जनाएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया