समाज

बेलायती राजदूतका छाेरा एलेक्सले सिन्धुपाल्चाेकमा पढाए बालबालिका

इकागज |
भदौ १६, २०८० शनिबार १२:३७ बजे

सिन्धुपाल्चाेक । बेलायती राजदूतका छोरा एलेक्स फेनले चार्ल्स बेट्जसँग मिलेर पाँचपोखरी-थाङ्ग्पाल गाउँपालिकाको टार गाउँस्थित श्री गोल्मेश्वरी आधारभूत विद्यालयमा चार हप्ता स्वयमसेवा शिक्षण गरेका छन्। उनीहरूलाई साथी शिक्षक कार्यक्रम अन्तर्गत शैक्षिक संस्था हेल्पले पदस्थापन गरेको थियो।

एलेक्स र चार्ल्सले साथी शिक्षकहरु अरुणा कुमाल र सुस्मिता बिकेसँग मिलेर कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुलाई अंग्रेजी र गणित पढाएका थिए। कक्षा कोठामा सिकाउने बाहेक, उनीहरूले खेलहरू र अतिरिक्त क्रियाकलापद्वारा विद्यार्थीहरुको सिकाईमा मद्धत पुर्‍याए । टारमा उनीहरु विद्यालयकै एक कर्मचारी कमला धिताल र उनकी परिवारसँग बसे र कमलाकै परिवारसँग उनीहरूले खाने जस्तै खाना खाए। जसमा प्रायः भात, दाल र स्थानीय तरकारीहरू थिए भने अक्सर स्थानीय परिकार ढिँडाेसँग फर्सीको मुन्टा खाए।


उनीहरुले यी परिकारको आनन्द लिँदै केही दिनमै नेपाली शैलीमा हातैले नै खान सिके। ढिँडाे स्वाद मान्दै खाँदा एलेक्सले भने "चम्चाले खाएको भए सायद यो परिकार खान गाह्रो हुन्थ्यो होला तर हातैले खान सिकेकाले मलाई असाध्यै स्वादिलो लाग्यो र हप्तामा एक पटक भए पनि खान पाए हुन्थ्य्यो जस्तो लाग्न थालेको छ ।" यस बाहेक उनीहरूलाई टमाटरको अचार,भन्टा,स्कुश र पालकको साग खान आसाध्यै मन पर्थ्यो।

बिहान र साँझको समयमा, स्थानीय संस्कृति र परम्पराको बारेमा जान्न कमलाको परिवारसँग उनीहरूले धेरै समय बिताउँथे। कमलाका छोरा छोरीहरु १० कक्षामा अध्ययनरत प्रजिता धिताल र ६ कक्षामा अध्ययनरत प्रज्ञान धितालसँग उनीहरु एकले अर्कालाई आफ्ना भाषा सिकाउने गर्थे। चार्ल्सले त एक दुई वटा नेपाली गीतहरु पनि गाउन सक्थे। घरको सबै भन्दा जेठो सदस्य ८० वर्षकी तेजकुमारी धितालसँग पनि उनीहरु समय निकालेर गफ़िन्थे। एलेक्स र चार्ल्स नेपाली फरर बोल्न सक्दैन थिए भने तेजकुमारी धिताल अंग्रेजी केही बुझ्दैन थिइन् तर सङ्केतहरूद्वारा उनीहरु घरि घर नजिकैको गाई वस्तु हेर्दा वा बारीमा फलेको कुराहरु देखाएर आफ्ना भावनाहरु साटासाट गर्थें।

वार्विक विश्वविद्यालयमा राजनीतिक शास्त्रको विद्यार्थी एलेक्स आफ्नो खाली समयमा उपन्यास लेखनमा व्यस्त हुन्थे भने केम्ब्रिज विश्वविद्यालयमा मनोविज्ञान विषयको विद्यार्थी चार्ल्स संगीत सुन्थे। उनीहरु दुवैले पाँचपोखरीको रैथाने मन्दिरमा गई कमलाको परिवार संग जनै पूर्णिमा पनि मनाए।

परिवार जस्तै गरि सँगै बसेका उनीहरु फर्किंदा कमलाको परिवार भावुक देखिन्थे। गाडी चढेर हिंड्न लाग्दा कमला धितालले उनीहरुलाई बिदाई गर्दै भनिन्, ‘छिट्टै फर्केर आउनुहोस् है र फेरि हामीसँगै बस्नुहोस्।" उत्तिकैमा चार्ल्सले जवाफ दिए " कहिले आउँछु मलाई थाहा छैन तर यो मेरो वाचा भयो मेरो विवाह हुनु भन्दा पहिला एकपटक पक्कै आउँछु, किनकि यो मेरो लागि दोस्रो घर भयो"। 

यो कार्यक्रमको व्यवस्थापन गर्ने हेल्प संस्थाका अध्यक्ष जिमी लामा भन्छन् "यस प्रकारको सम्बन्धमा मेरो ठूलो विश्वास छ। स्वयंसेवकले दुई व्यक्ति, परिवार, समाज, संस्कृति र देश बीच दिगो मित्रता सिर्जना गर्न मद्धत पुर्याउँछन्, विद्यालयमा विद्यार्थीहरुले केही नयाँ कुराहरू सिक्न र कम्तीमा अंग्रेजी भाषा अभ्यास गर्न अवसर पाउँछन्।"

हेल्पले सिन्धुपाल्चोक क्षेत्रमा केन्द्रित रही आफ्ना शैक्षिक कार्यक्रम र विद्यालयहरुलाई प्रत्यक्ष थप सहयोग पुर्याउन विगत १० वर्ष देखि एलेक्स र चार्ल्स जस्तै करिब ५०० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्वयंसेवकहरूलाई पदस्थापन गर्ने कार्य गर्दै आएको छ। एलेक्स र चार्ल्स जस्तै यहि महिना पाँचपोखरी-थाङ्ग्पाल गाउँपालिका भित्रका अन्य ४ वटा विद्यालयमा पनि हेल्पका स्वयंसेवकहरुले सहयोग पुर्याएका थिए।


Author

थप समाचार
x