गाउँमा स्वास्थ्यचौकी नहुँदा गर्भवतीलाई सास्ती
धादिङ । धादिङको गुर्दुम गाउँमा स्वास्थ्यचौकी नहुँदा गर्भवतीलाई उपचारका लागि सास्ती हुने गरेको छ । यहाँसम्म एम्बुलेन्स पुग्ने सडक छैनन् भने गाउँबाट सबैभन्दा नजिक मानिने स्वास्थ्य संस्था नौबिसेमा छ । सुत्केरी व्यथाले च्यापेपछि स्टेचरमा राखेर तीन घण्टाको ठाडो ओरालो झर्नु गाउँका सबैको बाध्यता हो ।
“घरमै सकुशल आमा र बच्चाको ज्यान जोगाउनु नै हाम्रा लागि ठूलो उपलब्धि हो”, धुनिबेँसी नगरपालिका–७ गुर्दुमका वीरबहादुर तामाङले भने, “गाउँमा सुत्केरी गराउने अनुभवी व्यक्ति भेटिदैनन् । कसैलाई बर्थिङ सेन्टरका बारेमा थाहा छैन ।”
सुत्केरीलाई पोषिलो खानेकुराको जोहो गरिसकेको भन्दै वीरबहादुरले श्रीमतीलाई सुत्केरी गराउन अस्पताल पुर्याउने चिन्ताले पिरोलेको बताए । “सुत्केरीका लागि आवश्यक सबै पोषिलो खानेकुरा स्वास्थ्यकर्मीले भनेअनुसार नै तयार गरेर राखेको छु”, उनले भने, “थोरै पैसाको जोहो पनि गरेको छु । तर व्यथा लागेपछि बेलैमा अस्पताल पुर्याउन सक्निछ कि सकिदैन भन्ने चिन्ताले पिरोलेको छ ।”
गाउँका अधिकांशले सकेसम्म घरमै सुत्केरी गराउन खोज्ने गरेको बताउँदै वीरबहादुरले यो यहाँका स्थानीयको बाध्यता भएको उल्लेख गरे । उनका अनुसार कतिपयले स्वास्थ्य चौकी वा अस्पताल जाँदाजाँदै बाटैमा बच्चा जन्माउँछन् । “जिल्लाको धुनिबेँसी नगरपालिका वडा नं ७ तोप्लाङ, गुर्दुम, लिखु, मजुवा, धुसेनी, थलीका सबैको साझा समस्या यस्तै छ”, उनले भने, “दोभान भन्ने ठाउँसम्म एम्बुलेन्स पुग्छ । त्यहाँसम्म पुग्न दुर्गम बस्तीका स्थानीयलाई चार घण्टासम्म पैदल हिँड्नुपर्छ ।”
बिरामी अस्पताल लैजाने खबर पाएपछि गाउँका सबै आइपुग्ने भन्दै उकालोओरालो बाटोमा स्टेचरमा बिरामी/गर्भवती बोकेर स्वास्थ्य संस्थामा पुर्याउनु निकै चुनौतीपूर्ण काम भएको वीरबहादुरको अनुभव छ । “दिउँसोमा पनि दायाँबायाँको बुटा समाउँदै हिँड्नुपर्छ । ओरालो बाटोमा राति बिरामी बोक्नयद्ध जिते बराबर हुन्छ”, उनले भने, “काहाली लाग्दो ओरालो बाटोमा बिरामी स्टेचरमा अडिएर बस्नै सक्दैन । स्टेचरबाट बिरामी नै लड्ला भन्ने डर उत्तिकै हुन्छ ।”
बर्खाको समयमा झन बाटो हिलो/लेदो हुने भएकाले यात्रा गर्न सास्ती हुने गरेको स्थानीय बताउँछन् । हिउँदमा जसोतसो गाउँसम्म गाडी पुगे पनि बर्खामा बाटोका कारण पैदल यात्रा नै सकसपूर्ण हुने स्थानीयको भनाइ थियो ।
“एम्बुलेन्स आउने केराबारीडाँडा वा दोभानसम्म बिरामी बोक्न कम्तीमा दुई घन्टा लाग्छ । पानी परेको बेला चिप्लो ओरालो झर्नै सक्दैन । सुत्केरीलाई बोकेर झन कसरी झर्नु निकै समस्या छ”, वीरबहादुरले दुखेसो पोखे । उनका अनुसार व्यथा सामान्य रह्यो र गाह्रो भएन भने गाउँमै सुत्केरी गराउने चलन छ ।
सुत्केरी व्यथा लामो समयसम्म लाग्यो वा गर्भवतीलाई गाह्रो भयो भने मात्रै नौबिसे स्वास्थ्य चौकी लाने गरिएको फुर्लुङ डाँडाकी विष्णुकुमारी धलानले बताइन् । “घरमै सुत्केरी भयो भने नाभी काट्न जान्ने पनि कोही छैनन्”, उनले भनिन्, “हचुवाकै भरमा छिनाल्ने चलन अहिले पनि छ ।”
सुत्केरी हुने समय नजिकै आएका केही गर्भवतीले अस्पताल छेउछाउमा कोठा भाडामा लिएर बस्ने गरेका महिला स्वयंसेविका कविता लामाले बताइन् । “अस्पताल नजिक आफन्त हुनेहरुले त्यही बस्ने गरेका छन्”, उनले भनिन्, “अधिकांश गर्भवतीले त्यसो गर्न सक्दैनन् । व्यथाले सारै नचापेसम्म घरमै बच्चा जन्माउने कोशिष गर्ने गरेका छन् ।”
गाउँमा बर्थिङ सेन्टर तथा स्वास्थ्यचौकी नहुँदा यहाँका अधिकांश महिलाले ज्यान जोखिममा राखेर बच्चा जन्माउन बाध्य छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया