समाज

'फुपूको घरमा पुर्‍याइदिने' भन्दै बालिका बलात्कार

प्रहरी भन्छ : बलात्कार गरी हत्या गर्ने प्रयास भएको रहेछ

इकागज |
भदौ १६, २०८० शनिबार १५:४५ बजे

सांकेतिक तस्बिर

सुर्खेत- फुपूको घरमा जाने भन्दै दैलेखबाट सुर्खेत आएकी १५ वर्षीया बालिका बलात्कृत भएकी छन् । दैलेखकी १५ वर्षीया बालिका भदौ २ गते सुर्खेतमा रहेको फुपूको घर जाने भनि सुर्खेत आएकी थिइन् ।

वीरेन्द्रनगर–४ कालागाउँमा फुपूको घरमा आउन दैलेख सदरमुकाम नारायण नगरपालिकाबाट बस चढेर सुर्खेत आइपुगिन् । बसबाट ओर्लेपछि अटो चढिन् । फुपूको घर खोज्दै वीरेन्द्रनगर–६ को गणेशचोक नजिकै बाटो छेउमा उभिरहेकी बालिकालाई अटो चालक अछामको पञ्चदेवल विनायक नगरपालिका–३ का सुरेन्द्रबहादुर शाहीले घरसम्म पुर्याइदिने भनेपछि बालिका खुसी भइन् ।


सुरेन्द्रको विश्वासमा परेर बालिका अटो रिक्सा चढिन् । अटो चालकले कालागाउँतर्फ नलगेर जङ्गलतिर लगेर गयो । बालिकाले यो बाटोबाट फुपूको घर पुगिन्न भनेपछि अटो चालकले जङ्गलबाट फर्काएर ल्यायो । करिब दुई घण्टा अटोमा घुमाएपछि राति नौ बजेतिर घर फेला नपरेको भन्दै उनले बालिकालाई वीरेन्द्रनगरको होटलमा पुर्यायो ।

प्रहरीका अनुसार सुरेन्द्रले वीरेन्द्रनगरको एक होटलमा अर्कै नाम राखेर दर्ता किताबमा इन्ट्री गरेका थिए । उनले आफ्नो नाम सुरेन्द्र थापा लेखाएका थिए भने ठेगाना गोरखा जिल्लाको राखेका थिए । बालिकालाई कोठामा लगेर गएपछि सुरेन्द्रले हातमा एसएलआर राइफलको ट्याटु देखाउँदै मैले भने अनुसार नमाने मार्ने धम्की दिएका रहेछन् ।

बलात्कार आरोपी सुरेन्द्रले राति फेरि आफूसँगै बालिकालाई पनि जबरजस्ती मदिरा सेवन गर्न लगाएर पटक–पटक बलात्कार गरेको प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ । बालिकालाई फुपूको घर पुर्याउँछु भनेको सुरेन्द्रले नजिकैको साँघुरो गल्लीमा लगेर छोडेर बेपत्ता हुन्छ ।  फुपूको खोजीमा भौतारिरहेकी बालिकाले गाउँकै एक जना दिदीलाई फेला पारेपछि उनैसँग गएर बसिन् । बालिकाले आफ्नो घटनाको विषयमा दिदीसँग भनेपछि उनको सहयोगमा प्रहरीमा खबर भएको डिएसपी लक्ष्मण शाहीले बताए ।

‘बुवाको रोहवरमा बालिकाले प्रहरीमा जाहेरी दिएकी छन्,’ डिएसपी शाहीले भने, ‘घटनाको विषयमा बुझ्दै जाँदा उनलाई किड्न्याप गरेर बलात्कार गरेको बुझियो, बालिकालाई बलात्कारपछि हत्या गर्ने प्रयास भएको रहेछ ।’

बालिकाले भनेअनुसार अटो र अटोचालक खोजेपछि  आरोपी सुरेन्द्रलाई पक्राउ गरिएको शाहीले बताए । 

‘शरीरमा रहेको ट्याटु लगाएको आधारमा उसलाई पहिचान गरिएको हो । घटनाको विषयमा उसले स्वीकार पनि गरेको छ,’ डिएसपी शाहीले भने, ‘हामीले पक्राउ गरेर सोधपुछ गर्दा उसले आफ्नो घर गोरखा बताएको थियो, नाम सुरेन्द्र भनेको थियो । उ बस्ने कोठा खानतलासी गर्दा सही पहिचान खुल्यो ।’ प्रहरीले सुरेन्द्रविरुद्ध अपहरण तथा शरीर बन्धक र जबरजस्ती करणी सम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेको छ ।


 


Author

थप समाचार
x