समाज

गैरपत्रकारलाई पनि सदस्यता वितरण गर्ने पत्रकार महासंघको निर्णय आपत्तिजनक : प्रेस चौतारी नेपाल

इकागज |
भदौ १६, २०८० शनिबार १६:१६ बजे

काठमाडौँ- नेकपा एमाले निकट प्रेस चौतारी नेपालले गैर पत्रकारहरूलाई पनि पत्रकार महासंघको सदस्यता वितरण गर्ने काम गरेको भन्दै नेपाल पत्रकार महासंघप्रति आपत्ति जनाएको छ ।

नेपाल चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले मापदण्दविपरीत गएर पत्रकार महासंघको सदस्यता वितरण गर्ने काम गरिएको भन्दै नेपाल पत्रकार महासंघप्रति आक्रोश व्यक्त गरेका हुन् ।


शनिबार काठमाडौँमा प्रेस चौतारी नेपाल, बागमती प्रदेश समितिले प्रकाशित गरेको सम्पर्क डायरी सार्वजनिक गर्दै उनले पत्रकार महासंघले क्याम्पस प्रमुख, विद्यालयका प्रधानाध्यापकजस्ता गैर पत्रकारहरूलाई पनि पत्रकार महासंघको सदस्यता वितरण गर्ने काम गरिरहेकाले त्यसविरुद्ध महासंघको कार्यालयमा तालाबन्दी गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी समेत दिए ।

अध्यक्ष बस्नेतले पत्रकार शुद्धीकरण अभियान अन्तर्गत तयार पारिएको १५ बुँदे मापदण्डविपरीत महासंघले वितरण गरेको सदस्यता आफ्नो संगठनलाई स्वीकार्य नहुने पटकपटक दोहोर्याए ।

कार्यक्रममा चौतारीको बागमती प्रदेश समितिले दोलखाका विनिता शिवाकोटी र मकवानपुरकी सरिता दाहाललाई क्रियाशील पत्रकारिता पुरस्कार वितरण गर्ने जानकारी गराएको छ । समितिका अध्यक्ष शरद सापकोटाले यस वर्षको उत्कृष्ट जिल्ला पत्रकारिता पुरस्कार भने प्रेस चौतारी नेपाल रामेछाप जिल्ला कार्य समितिलाई वितरण गर्न लागिएको बताइन् ।

 


Author

थप समाचार
x