सिन्धुपाल्चोकका ५० विद्यार्थीलाई हेल्पको छात्रवृत्ति
काठमाडौँ- हेल्पले सिन्धुपाल्चोक जिल्लाका ५० जना विद्यार्थीहरूका लागि छात्रवृत्ति प्रदान गर्ने भएको छ । आज काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच जिल्लाका विभिन्न विद्यालयमा अध्ययन गरी कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूका लागि छात्रवृत्तिको घोषणा गरिएको हो ।
कार्यक्रममा हेल्पका अध्यक्ष जिमी लामाले यो विगतको कार्यक्रमको निरन्तरता भएको बताए । उनले उच्च शिक्षाका लागि अध्ययन गरिरहेका विद्यार्थीहरूका लागि यसले केही सहयोग पुग्ने विश्वास लिएको बताए । यी विद्यार्थीले ११ र १२ कक्षाका लागि छात्रवृत्ति पाउने छन् । यसअघि पनि सयौंले यो सेवा पाइसकेका आयोजकले जनाएको छ ।
कार्यक्रमको उद्देश्यबारे बताउँदै उनले पढाईसँगसँगै सामाजिक उत्तरदायित्त्व बहन गर्नसमेत आग्रह गरे । कार्यक्रममा पूर्व शिक्षा मन्त्री एवम् प्रतिनिधि सभा सदस्य शिशिर खनालले सम्पूर्ण विद्यार्थीहरूमा बधाई तथा शुभकामना व्यक्त गर्दै सिक्ने र सिकाउने प्रक्रिया कहिल्यै नसकिने बताए । उनले संस्थाका अध्यक्ष जिमी लामाले सिन्धुपाल्चोकको शिक्षा क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै आज यो कार्यक्रमले धेरै विद्यार्थीहरूको भविष्य सुनिश्चित भएको विश्वास लिएको बताए ।
गण्डकी प्रदेशका प्रदेशसभा सदस्य एवम् शिक्षाका लागि राष्ट्रिय अभियानका पूर्व अध्यक्ष डिल्लीराम सुवेदीले जीवनको ठूलो सफलताका लागि हेल्प सहारा बन्न सक्ने बताए । उनले यस कार्यक्रमले पढाईसंगै सामाजिक उत्तरदायित्त्वको समेत बोध गराउने बताए । हरेक व्यक्तिमा बेग्लाबेग्लै क्षमता हुने भएकाले विद्यालय शिक्षाले विद्यार्थीमा भएको अन्तर्निहित क्षमताको प्रस्फुटन गर्ने बताए ।
समाज कल्याण परिषद्का सदस्य सचिव मनोज भट्टले हेल्पले शिक्षाको क्षेत्रमा धेरै पहिलादेखि महत्त्वपूर्ण कार्यक्रम गर्दै आएको बताए । उनले देशको सुनौलो रेखा कोर्नका लागि सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए । नायिका केकी अधिकारीले समाज परिवर्तन र आफ्नै परिवर्तनका लागि चालेको यो कदमले सार्थकता पाओस् भन्दै शुभकामना व्यक्त गरिन् । उनले विशिष्ट व्यक्तिहरूको उदाहरण दिँदै निरन्तर आफ्नो लक्ष्य प्राप्तिमा लाग्न आग्रह गरिन् ।
कार्यक्रममा साथी शिक्षक कार्यक्रम अन्तर्गत पाँचपोखरी थाङपाल गाउँपालिकाका विभिन्न विद्यालयमा अध्यापन गरी फर्किएका शिक्षकहरूलाई सम्मान गरिएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया