समाज

बिगेसोले भन्योः सिंगापुर गोर्खा प्रहरीको पहिचान के हो ? सर्वोच्चको आदेश कार्यान्वयन गरियोस्

'नेपालमा महँगी बढेकाले तलब र पेन्सनको सुविधा बढाउनुपर्छ'

इकागज |
भदौ १७, २०८० आइतबार १७:३३ बजे

काठमाडौँ- ब्रिटिश गोर्खा भुतपूर्व सैनिक संगठनले (बिगेसो) सिंगापुर गोर्खा प्रहरीको पेन्सन सुविधा बढाउन माग गरेको छ । आइतबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलन गरी बिगेसोले बढेको तलबका आधारमा पेन्सन सुविधा बढाउन माग गरेका छन् । नेपालमा भएको मँहगी वृद्धिसँगै प्रत्येक वर्ष पेन्सन परिमार्जन गर्न उनीहरूले माग गरेका छन् । सिंगापुर प्रहरीहरू अन्याय र विभेदमा परेको उनीहरूको ठहर छ ।

बिगेसोका अध्यक्ष पदमबहादुर लिम्बुले सिंगापुर गोर्खा प्रहरीमा कार्यरतको पहिचान नभएको उनले बताए । ‘हाम्रो पहिचान के हो?,’ प्रश्न गर्दै उनले भने,’ हामीप्रति जिम्मेवार सिंगापुर वा बेलायत को छ?’ नेपाल सरकारको भूमिकाबारे प्रस्ट पार्न पनि उनले आग्रह गरे ।


बेलायत-भारत-नेपालबीच सन् १९४७ मा भएको असमान र विभेदकारी त्रिपक्षीय सन्धि खारेज गर्न अध्यक्ष लिम्बुले माग गरे । त्रिपक्षीय सम्झौता खारेज गरी दुईपक्षीय श्रम सम्झौता लागू गर्नुपर्ने उनको भनाइ छ ।  

सिंगापुर गोर्खा प्रहरीमा रहेकाहरू सबै बेलायती रहेको उनले दाबी गरे । नेपालीलाई सिंगापुर प्रहरीमा लैजाँदा मानव तस्करको रुपमा लगिएको लिम्बुको भनाइ छ ।

समान कामको समान तलब, पेन्सन भत्ता र अन्य सुविधाहरू प्रदान गर्नलाई लिम्बुले आग्रह गरे । सिंगापुर प्रहरीबाट अवकाश प्राप्त प्रहरीका विधुवा श्रीमतीहरूलाई ब्रिटिश गोर्खा सरह पेन्सन दिन पनि उनले माग गरे ।

सिंगापुर प्रहरीमा कार्यरत र उनका परिवारहरूलाई पनि अवकाशपछि बेलायती सेनामा काम गरी अवकाश पाएकाको परिवारलाई जस्तै सिंगापुरमा काम गरेकाको सन्तान, परिवारलाई बेलायतमा वा सिंगापुरमा आवासीय भिसा उपलब्ध गराउनुपर्ने बिगेसोको माग छ ।

बिगेसोको सिंगापुरमा गोर्खा प्रहरीका छोराछोरीलाई योग्यता अनुसारको काम गर्न र शिक्षा हासिल गर्न पाउनुपर्ने माग छ । सिंगापुर गोर्खा प्रहरीका छोराछोरीलाई उच्च शिक्षाका लागि छात्रवृत्ति प्रदान गर्नुपर्नेछ ।

सिंगापुर गोर्खा प्रहरीका सन्तानलाई सिंगापुर प्रहरीका बच्चा सरह जन्मसिद्ध नागरिकको अधिकार र सेवा दिनुपर्ने लिम्बुले बताए । नेपालमा जन्मेका सिंगापुरका सन्तानलाई सिंगापुरमा आवाशीय भिसा र काम गर्ने अवसर दिनुपर्ने उनीहरूको माग छ ।

‘सिंगापुर प्रहरीमा कार्यरत गोर्खा प्रहरीका सन्तान र श्रीमतीलाई योग्यता तथा क्षमता अनुसारको काम दिनुपर्छ,’ उनले थप माग राख्दै भने,’ नेपालमा ब्रिटिस गोर्खा कल्याणकारी कोष मार्फत दिइँदै आएको स्वास्थ्य सेवाको सुविधा पर्याप्त नभएकाले सिंगापुरमा दिने जस्तै नेपालकै मुख्य अस्पतालबाट उपचार पाउनुपर्छ ।‘

सेवा अवधिमा दुर्घटनामा परी शक्त घाइते भइ वा गम्भीर रुपमा शारीरिक अस्वस्थ भइ घर फर्केकालाई उचित क्षतिपुर्ति दिनुपर्ने र पेन्सन उपलब्ध गराउन पनि उनले माग राखे ।

सिंगापुर गोर्खा प्रहरीमा कार्यरत हुँदा कुनै जघन्य कानुनी अपराध नगरी सानोतिनो मामिलामा बिना पेन्सन र बिना क्षतिपुर्ति खाली हात नेपाल फर्काइएकालाई अरु अवकाश प्राप्त सरह क्षतिपुर्ति र पेन्सनको व्यवस्था गर्नुपर्ने बिगेसोले माग राखेको छ ।

सिंगापुर प्रहरीको अवधि २० देखि २४ र सेवा अवधि सिंगापुर नागरिकहरूको सरह बनाउन लिम्बुले माग राखे । सिंगापुर गोर्खा प्रहरीले चाहेमा नेपाली महिलादेखि अन्य मुलुकको महिलासँग विवाह गर्न पाउनुपर्ने उनको माग छ ।

सिंगापुर प्रहरीको मागलाई बेलायत र सिंगापुर सरकारले गम्भीर रुपमा लिनलाई उनले आग्रह गरे । नेपाल सरकारले सिंगापुर प्रहरीको माग पूरा गराउन तत्काल सिंगापुर र बेलायतसँग कूटनीतिक पहल गरी वार्ता गर्नलाई उनले जोड दिए ।

सरकरले बिगेसोको मागलाई बेवास्ता गरेमा चौथो चरणको आन्दोलनको उनले घोषणा उदघोष गरे । ‘हाम्रो आन्दोलनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियकरण गरिन्छ,’ उनले थपे ।

गोर्खा भर्ती सम्बन्धी त्रिपक्षीय सम्झौता खारेज गर्न सर्वोच्च अदालतले गत वर्षको माघ २४ गते आदेश दिएको थियो । ‘ गोर्खा सैनिकले पाउने तलब, पेन्सन र अन्य सेवा सुविधा तथा सम्मानसँग सम्बन्धित जुन कुरा उठाएको छ । सो कुरा संविधानको व्यवस्थाको रोहबरमा कार्यपालिका वा व्यवस्थापिकाले गम्भीरतापूर्वक हेर्नुपर्ने विषय देखिन्छ,’ आदेशमा उल्लेख छ ।  

बिगेसोका प्रमुख सल्लाहकार परि थापाले सिंगापुर गोर्खा प्रहरीको जीवन, सुख, सुविध र सम्मानको सम्बर्द्धन गर्नु सरकारको दायित्त्व रहेको बताए । सरकारको सम्झौता अनुरुप नेपाली नागरिक विदेशमा काम गरिरहेकाले उनीहरूको सेवा तथा सुविधाका लागि सरकारले चासो लिनुपर्ने उनको भनाइ छ ।

'दुई सय वर्ष भन्दा लामो इतिहास बोकेको गोर्खा भर्ती सम्बन्धी व्यवस्थालाई व्यवस्थित बनाउन सरकारले विशेष चासो राख्नुपर्छ,' थापाले भने,' उनीहरूले आफ्नो उर्जावान उमेर विदेशमा बिताएकाले सेवा सुविधाका लागि सरकारले पहल गर्नुपर्छ । कूटनीतिक माध्यमबाट सबैभन्दा बढी चासो दिएर गोर्खा प्रहरीको मागलाई सम्बोधन गरिनुपर्छ ।'


Author

थप समाचार
x