समाज

८३ वर्षीया भागरथी चन्दका हत्या आरोपी सार्वजनिक

इकागज |
भदौ १७, २०८० आइतबार २०:११ बजे

दार्चुला- जिल्लाको मालिकार्जुन गाउँपालिका–७ टोपाली बस्ने ८३ वर्षिया भागरथी देवी चन्दको हत्या गरी फरार रहेका आरोपीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले हत्या आरोपी जिल्लाको मालिकार्जुन गाउँपालिका–७ टोपालीकै २१ वर्षीय दिपक चन्द र दुहुँ गाउँपालिका–३ ब्रह्मदेवका १८ वर्षीय आषिस बमलाई आइतबार (आज) पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । 

उनीहरूलाई कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका–४ बसपार्क नजिकबाट भदौ १२ गते पक्राउ गरी दार्चुला ल्याइएको तथा ज्यान सम्बन्धी कसूर अन्तरगत मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


आरोपी चन्द र बमले भदौ ८ गते राति ८३ वर्षीय भागरथी देवी चन्दलाई उनकै घरको कोठामा हँसिया, कैची, चक्कु प्रयोग गरी छाती, पेट तथा घाँटी रेटी निर्ममता पूर्वक हत्या गरी शवलाई घरदेखि ३ सय मिटर दक्षिणतर्फको भिरालो जमिनमा फाली सुकेको झारले ढाकेको अवस्थामा प्रहरीले फेला पारेको थियो । चन्दको हत्यापछि प्रतिवादी बम र चन्द मृतकले कानमा लगाएका सुनका गहना (तेपले) एक जोर, बाकसमा राखेको अमेरिकी डलर १०० दरका ५ नोट, १ हजार दरको कोरियन रुपैयाँ र ४० हजार नेपाली रुपैयाँ लुटपाट गरी फरार भएका थिए । 

हत्या आरोपी चन्द र बमले भदौ ८ गते रातिको समयमा हत्या र लुटपाट गरी महाकाली नगरपालिका–९ दत्तुका ३० वर्षीय सुनिल सिंह भाटलाई गहना बेच्न दिएको खुल्न आएको छ । सुनिल सिंह भाटले भदौ १० गते विहान जिल्ला सदरमुकाम खलंगामा रहेको धर्म सिंह दयालीले सञ्चालन गरेको (डि–राज ज्वैलरी) सुनचाँदी पसलमा कानमा लगाउने (तेपाले) गहनालाई ९० हजारमा बेचेको प्रहरीको अनुसन्धानले देखाएको छ । भदौ ८ गते राति फरार रहेका आरोपी चन्द र बम जिल्ला सदरमुकाम खलंगा बजार हुँदै भारतको धार्चुलास्थित अतिथि होटलमा एक रात बसेको प्रहरीको अनुसन्धान पछि खुलेको छ । उनीहरू दोस्रो दिन भारत धार्चुलाबाट पिथौरागढ, टनकपुर हुँदै भदौ ११ गते पलिया पुगी होटलमा बसेका थिए । भदौ १२ गते पलियाबाट बरेली हुँदै गड्डाचौकीको बाटोबाट नेपाल प्रवेश गरेका उनीहरूलाई प्रहरीले कञ्चनपुरको भिमदत्त नगरपालिका–४ बसपार्कबाट पक्राउ गरेको थियो ।

प्रहरीले सुन बिक्री गर्ने सुनिल सिंह भाट र सुन खरिद गर्ने प्रतिवादी महाकाली नगरपालिका–४ (डि–राज ज्वैलरी) सुनचाँदी पसलका संचालक ४७ वर्षीय धर्म सिंह दयालीलाई पनि पक्राउ गरेको छ । प्रहरीले उनीहरूको साथबाट ११ दशमलव ३६ ग्राम सुनका कानमा लगाउने (तेपले) गहना, ५ सय अमेरिकी डलर र १ हजारको कोरियन रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख तर्क राज पाण्डेले बताए ।


Author

थप समाचार
x