समाज

बाँकेमा विद्युत् हुकिङ गरेर चोरी

इकागज |
भदौ १८, २०८० सोमबार २१:१४ बजे

फाइल तस्बिर

नेपालगञ्ज- बाँकेमा प्रत्यक्ष रूपमा विद्युत् हुकिङ गरेर विद्युतको चोरी भएको छ । त्यसबाहेक मिटरबाट समेत विद्युत् चोरी भएको नेपाल विद्युत् प्राधिकरण, नेपालगञ्ज वितरण केन्द्रले जनाएको छ । 

जिल्लाका नेपालगञ्ज–४, जयसपुर, हिरीमिनिया, कम्दी, डुडुवालगायत क्षेत्रबाट विद्युतको हुकिङ गरेर विद्युत् चोरी भएको नेपालगञ्ज वितरण केन्द्रका प्रमुख दिवाकर प्याकुरेलले जानकारी दिए । 


आर्थिक वर्ष २०८०/८१ को साउनदेखि हालसम्म सात जनालाई पक्राउ गरिएको जानकारी दिँदै उनले छड्के निरीक्षणका क्रममा विद्युत् चोरी भएको पाइएको बताए । अवैध रुपमा विद्युत् चोरी गरेकाहरूबाट रु दुई लाख ९३ हजार पाँच सय ४६ राजस्वसमेत सङ्कलन भएको वितरण केन्द्रले जानकारी दिएको छ । 

आव २०७९/८० मा पनि डुडुवा, हिरीमिनिया, खजुराको सी गाउँ लगायतका ठाउँबाट विद्युत् चोरी भएको थियो । उक्त विद्युत् चोरी भएका क्षेत्रबाट करिब रु दुई लाख २० हजार राजस्व सङ्कलन भएको वितरण केन्द्रले उल्लेख गरेको छ । 

वितरण केन्द्रका प्रमुख प्याकुरेलले पछिल्लो समय विद्युत् चोरीको घटनामा कमी आएको उल्लेख गर्दै चोरी हुने क्षेत्रमा निगरानी बढाइएको जानकारी दिए । उनले तरकारीको पकेट क्षेत्रमा विद्युतका लागि मिटरको माग बढी रहेको र सबै वडामा विद्युत् विस्तार भएर पनि बजार र बाटो साँघुरो भएका कारण ट्रान्सफर्मर राख्ने स्थानको अभाव भएको बताए । 

'टोलटोलमा ट्रान्सफर्मर राख्ने अवस्था आएको छ, तर पोललाई आड लगाउने स्थान पनि छैन,' उनले भने । त्यस्तै विद्युत् प्राधिकरण, नेपालगञ्ज वितरण केन्द्रमा अहिलेसम्म रु ४४ करोड २५ लाख ४३ हजार एक सय ३७ बक्यौता रहेको छ । सो बक्यौतामध्ये सबैभन्दा बढी सडक बत्तीको रु १८ करोड ६८ लाख ९९ हजार नौ सय ६४ रहेको छ । रासस


Author

थप समाचार
x