उपचारार्थ गायक रेशम थापालाई गाउँवासीको सहयोग
काठमाडौं– काँठ क्षेत्रका चर्चित गायक रेशम थापा अस्वस्थ भई अस्पताल भर्ना भएपछि उनका गाउँवासीले उपचारमा सहयोग गरेका छन् । माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गराइरहेका थापाको उपचारार्थ धेरै रकम लाग्ने भएपछि गाउँवासीले चन्दा उठाएर सहयोग गरेका हुन् ।
चर्चित गायक तथा सर्जक सिन्धुपाल्चोकको जलवीरका हुन् । उनको उपचारका लागि बलेफी गाउँपालिका–१ जलवीरका अध्यक्ष हुपबहादुर खड्का, राप्रपाका नेता दीपक थापा र जलवीर युवा क्लबका पदाधिकारीले सहयोग रकम संकलन गरेका थिए । संकलित एक लाख ४३ हजार तीन सय ७० रुपैयाँ अस्पतालमै पुगेर सहयोग गरिएको दीपक थापाले जानकारी दिए । ‘राष्ट्रमै चिनिएका हाम्रा गाउँका गहनालाई उपचारमा धेरै रकम लाग्ने सुनेपछि केही सहयोग गर्न रकम संकलन गरेका थियौं,’ राप्रपाका नेतासमेत रहेका दीपकले भने, ‘निम्नस्तरको उहाँलाई थप सहयोगका लागि अपीलसमेत गर्दछौं ।’
जोरपाटीस्थित आफ्नै निवासमा अचानक ढलेका थापाको मस्तिष्कको नशामा असर पुगेको उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । भुइँमा ढलेपछि शरीरको आधा भाग नचल्ने अवस्था भएपछि उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेको हो ।
उनको उपचारका लागि राष्ट्रिय संगीतकर्मीसंघले विज्ञप्ति जारी गर्दै संगीतकर्मी थापाको उपचारका लागि सहयोगार्थ अपिलसमेत गरेको छ ।
‘उपचारका लागि ठूलो धनराशि खर्च हुने भएकाले उहाँको आर्थिक आवस्था पनि निकै कमजोर रहेकोले उहाँलाई बचाउन तपाइँ हाम्रो सानो सहयोगले गायक रेशम थापालाई नयाँ जीवन दिलाउन सकिन्छ भन्ने आशासहित उपचारको लागि देश तथा विदेशमा रहनु भएका सम्पूर्णलाई आर्थिक सहयोगको लागि हार्दिक अपिल गर्दछौं,’ संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया