नारायणगढमा भाेलि रोपाइँ जात्रा हुँदै
भरतपुर। श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर नारायणी कला मन्दिरले भदौ २० गते नारायणगढमा रोपाइँ जात्रा गर्ने भएको छ । आइतबार कला मन्दिरमा पत्रकार सम्मेलन गरी जात्रा हुने जानकारी दिइएको हो ।
विशेषगरी नेवारी संस्कृति संरक्षण र सम्बर्द्धन गर्नका लागि २०४८ सालदेखि नारायणगढ बजारमा रोपाइ जात्रा गरिँदै आएको कला मन्दिरका पूर्वअध्यक्ष अमर प्रधानले जानकारी दिए ।
रोपाइँ जात्रा संयोजक हरिकुमार राजभण्डारीका अनुसार कृषि पेशामा आधारित नेपाली जनजीवनको सजिव चित्रण प्रस्तुत गरिने यो जात्रा नेपाली संस्कृतिको एउटा उत्कृष्ट प्रतिबिम्ब मानिन्छ । खेतमा रोपाइँ सकेर क्वाँटी खाइ जीवनलाई नयाँ स्फुर्ति दिई शारीरिक रूपमा समेत सक्षम भइ भाद्र कृष्णाष्टमीको दिन आनन्दपूर्वक यो जात्रा मनाउने गरिएको राजभण्डारीले बताए ।
`मनोविनोदको लागि मात्रै नभएर यो जात्रालाई सामाजिक सहिष्णुता र भातृत्वभाव बढाउने सुन्दर अवसरमा रूपमा हामीले लिने गरेका छौँ´, पूर्वअध्यक्ष प्रभातकुमार जोशीले भने - `खासगरी नेवार जातिको व्यापारसँग पनि यो जात्रा जोडिएको छ । यो जात्राको दिन बाटोको छेउछाउमा बजार थाप्ने प्रचलन पनि रहेको छ । यो प्रचलन बिस्तारै हराउँदै जान थालेकोले मिडियाले यसका भित्री कुरालाई जनमानसमा ल्याउन सहयोगी भूमिका खेल्नुपर्छ ।´
जात्राका अवसरमा बिहान ८ बजे नारायणी कला मन्दिरमा `हो पाँचो हो´ हुँदैछ । यसको अर्थ रोपाइँ जात्राको सूचना दिई जात्रामा सबैलाई आमन्त्रण गर्नु हो । त्यसपछि दिउँसो ३ बजे रोपाइँ जात्रा निकालिनेछ । नारायणी कला मन्दिरबाट निकालिएको जात्रा बालकुमारी स्कुल चोक, भृकुटीपथ, जेसीज चोक, मेनरोड, लीलाचोक, दियालो रोड, पोखरा बसपार्क, गणेशचोक, प्रगतिपथ, बालकुमारी चोकहुँदै कला मन्दिरमा आएर समापन हुनेछ ।
पञ्चेबाजाको धुनमा रोपाइँ गर्दै मनोरञ्जन गरिने रोपाइँ जात्रालाई जीवन्त राख्नु अहिलेका पुस्ताको धर्म र कर्तव्य रहेको नारायणी कला मन्दिरका अध्यक्ष सुविर श्रेष्ठले बताए । २०१९ सालमा स्थापना भएको नारायणी कला मन्दिरले नेपाली कला, साहित्य र रंगमञ्च सँगसँगै समाजका अन्तरकुन्तरमा रहेका जात्रा, मेला, पर्वको संरक्षण, सम्बर्द्धन र प्रबर्द्धनमा सक्रियताका साथ काम गरिरहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया