पर्यटन प्रवर्द्धन गर्न इच्छाकामना महोत्सव हुँदै
कुरिनटार । भदौको अन्तिमबाट कुरिनटारमा इच्छाकामना महोत्सव २०८० हुने भएको छ । इच्छाकामना गाउँपालिका अन्तर्गत वडा नम्बर- ४ कुरिनटारमा भदौ २७ गतेदेखि असोज ७ गतेसम्म महोत्सव हुने भएको हो । आर्थिक गतिविधिको चलायमान तथा स्थानीय उत्पादन र पर्यटन प्रबर्द्धनका लागि इच्छाकामना गाउँपालिका वडा नम्बर ४ को कार्यालय कुरिनटार र उद्योग वाणिज्य संघ मुग्लिनको आयोजना तथा सामुदायिक रेडियो इच्छाकामना एफएम कुरिनटारको सहआयोजनामा महोत्सव हुने भएको हो ।
सोमबार कुरिनटारमा पत्रकार सम्मेलन आयोजना गरी महोत्सवको जानकारी गराइएको हो । महोत्सव करिब १ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा राखिएको वडा नम्बर ४ का वडाध्यक्ष तथा महोत्सव संयोजक रुद्र उप्रेतीले जानकारी दिए । इच्छाकामनाको आर्थिक गतिविधि चलायमान बनाउन र पर्यटन प्रबर्द्धनका लागि महोत्सव आयोजना गरिएको उनको भनाई छ ।
अर्का संयोजक उद्योग वाणिज्य संघ मुग्लिङका अध्यक्ष कल्याण गुभाजुले पछिल्लो समय सिथिल बनेको इच्छाकामनाको अर्थतन्त्रलाई यस महोत्सवले चलायमान बनाउने विश्वास व्यक्त गरे । महोत्सवलाई सफल बनाउन विभिन्न उपसिमिति निर्माण गरी काम गरिएको उनले बताए । इच्छाकामनाको गौरवको रुपमा लिएको यस महोत्सवलाई सबै इच्छाकामनावासी मिलेर सफल बनाउने उनले बताए ।
उद्योग वाणिज्य संघ मुग्लिङका उपाध्यक्ष तथा मर्स्याङ्दी बहुदेश्यीय सहकारी संस्था लिमिटेड मुग्लिङका प्रबन्धक कुमार श्रेष्ठले महोत्सवको अवसरमा यहाँका होटल तथा रिर्सोटहरुमा छुटको व्यवस्था दिइने बताए । यहाँको पर्यटन प्रवर्द्धनका साथै स्टलहरुमा स्थानीय उत्पादनलाई प्राथमिकता दिइने पनि उनले बताए । गाउँपालिका उपाध्यक्ष माया सिलवालले महोत्सवमा किनबेच हुने सामानहरुको गुणस्तरमा ध्यान दिइने बताइन् । उपाध्यक्ष सिलवालले महोत्सवको बाहानामा पहिले पहिले जुवा खेलाउने प्रचलन रहे पनि यसपटकदेखि यसलाई स्थान नदिने बताइन् ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले आर्थिक गतिविधिलाई चलायमान बनाउनका लागि महोत्सवले महत्वपूर्ण भुमिका खेल्ने बताए । साथै उनले यहाँ रहेको पर्यटकीय स्थलहरुको प्रबर्द्धन, स्थानीय उत्पादनको प्रबर्द्धन र कला साहित्य संस्कृतिको उजगार तथा संरक्षण गर्न मद्दत पुग्ने बताए । उनले महोत्सवबाट गाउँपालिकामा आउने कर बापतको सम्पूर्ण रकम विपन्न बालबालिकाको शिक्षामा खर्च गरिने समेत बताए ।महोत्सवमा २०० सटल रहने आयोजकले जनाएको छ । स्थानीय उत्पादनका १५ वटा स्टलहरुलाई निशुल्क व्यवस्था गरिएको छ ।
महोत्सवको प्रवर्द्धक एवम् संरक्षक इच्छाकामना गाउँपालिका र उद्योग वाणिज्य संघ चितवन रहेको छ ।
इच्छाकामना महोत्सवका आकर्षणहरुमा धार्मिक तथा पर्यटकीय स्थलहरु इच्छाकामना मन्दिर, जय बालगौरी पाथिभरा सिहंदेवी मन्दिर, मनकामना मन्दिर, सिराइचुली, उपर्दाङ्गगढी, लामो झरनाको अवालेकनका लागि विशेष प्याकेजमा यात्रा, आदिवासी जनताजाति तथा सीमान्तकृत समुदायको भेषभुषा रहनसहन तथा संस्कृतिहरुको प्रदर्शनी, औद्योगी प्रदर्शनी, घरेलु एवम् कृषि प्रदर्शनी, राष्ट्रिय तथा स्थानीय कलाकारबाट दैनिक मनोरञ्जनात्मक कार्यक्रमहरु र साथमा तीज गीत प्रतियोगिता र विविध बाल मनोरञ्जनका खेलहरु तथा त्रिशुली नदीमा र्याप्टीङ्गको व्यवस्था रहेको छ ।
यसअघि २०७५ सालमा उद्योग वाणिज्य संघ मुग्लिङ र इच्छाकामना एफएमको संयुक्त आयोजनामा पहिलो इच्छाकामना महोत्सव आयोजना गरिएको थियो । अहिले आयोजना हुन लागेको महोत्सव दोस्रो संस्करण हो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया