यस वर्षको राष्ट्रिय शिक्षक पुरस्कार तथा टुरिजम लाइफटाइम अवार्ड प्रदान
काठमाडौँ- नेपालको शिक्षा तथा पर्यटन क्षेत्रमा योगदान पुर्याउने देशैभरबाट छनौट गरिएका सात व्यक्तित्वलाई राष्ट्रिय शिक्षक पुरस्कार तथा टुरिजम लाइफटाइम अवार्ड प्रदान गरिएकाे छ । आज राष्ट्रपतिको कार्यालयमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले उक्त अवार्ड प्रदान गरेका हुन् ।
साेही क्रममा यस वर्षको 'पी.पी. प्रसाईं लाइफटाइम अचिभमेन्ट अवार्ड २०८०' अवार्डबाट पर्वतारोही आङ छिरिङ शेर्पा सम्मानित भएका छन् । यसैगरी हरेक वर्ष प्रत्येक प्रदेशका उत्कृष्ट शिक्षकलाई प्रदान गरिने ‘उत्कृष्ट शिक्षक पुरस्कार– २०८०’ यो वर्ष कोशी प्रदेशबाट फिक्कल माध्यमिक विद्यालयका सोमप्रसाद गौतम, बागमती प्रदेशबाट श्री जनकल्याण माध्यमिक विद्यालय बौद्धका कमला राई, गण्डकी प्रदेशबाट पञ्चमुनिदेव मावि, पाल्पाका टुकादेवी आचार्य पुरस्कृत भएका छन् ।
लुम्बिनी प्रदेशबाट मोहन कन्या मा.वि. तानसेनका गोपालप्रसाद बस्याल पुरस्कृत भएका छन् ।
यसैगरि कर्णाली प्रदेशबाट श्री तिरपुरा मावि जगदुल्ला डोल्पाका जयबहादुर बस्नेत पुरस्कृत भएका छन् । सुदूरपश्चिम प्रदेशबाट श्री सर्वोदय माध्यमिक विद्यालय धनगढीका जीतबहादुर चौधरी सम्मानित भएका छन् ।
प्रतिष्ठानले हरेक वर्ष सामुदायिक विद्यालयमा क्रियाशील शिक्षकलाई प्रोहत्साहन गर्ने उद्देश्यले शिक्षा क्षेत्रमा विशिष्ट योगदान पुर्याउने सातै प्रदेशका उत्कृष्ट शिक्षकलाई पुरस्कारसहित पचास हजार नगद र विजयी शिक्षकले अध्यापन गराउने सबै विद्यालयलाई १० हजार बराबरको शैक्षिक सामग्री प्रदान गर्दै आएको छ ।
देशैभरबाट सार्वजनिक सूचना मार्फत आवेदन माग गरेर शिक्षकको पढाउने शैली, बाल मनोविज्ञान, विद्यार्थीको आवश्यकताप्रति उनीहरूको बुझाइ, शिक्षाप्रति उनीहरूको प्रतिबद्धता, सृजनशीलता, अभिभावक तथा समाजसँगको उनीहरूको सम्बन्ध र स्थानीय अभिभावक तथा समुदायको सिफारिस लगायतका आधारमा शिक्षा विशेषज्ञ, पूर्व शिक्षक, पूर्व प्रशासक, शिक्षण क्षेत्रमा लागेका संघसंस्थाका प्रतिनिधि तथा लब्ध प्रतिष्ठित व्यक्तिहरूको निर्णायक समितिले पुरस्कार प्रदानका लागि सिफारिस गर्दछ ।
जीवनभर विद्यार्थीलाई शिक्षाको ज्योती प्रदान गर्ने शिक्षकहरूको उचित सम्मान र हौसला प्रदान गर्न र शिक्षण पेसामा आउन चाहनेलाई प्रोत्साहन गर्न पर्यटन व्यवसायी प्रजापति प्रसाईंको सम्मानमा यो पुरस्कार स्थापना गरिएको हो भने पर्यटन क्षेत्रमा अनवरत लाग्नेलाई हरेक वर्ष पी.पी. प्रसाईं लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरिन्छ ।
यसलाई आगामी दिनमा अझ व्यापक र समावेशी बनाउँदै लैजाने पीपी प्रसाई फाउण्डेसनको योजना रहेको छ । पर्यटन व्यवसायी प्रजापति प्रसाईंको ग्रामीण क्षेत्रसम्म शिक्षा र पर्यटनको विकास गर्ने सपनालाई मूर्त रूप दिन २०६७ साल फागुन ६ गते पी.पी. प्रसाईं फाउण्डेसनको गठन गरिएको हो । प्रसाईंको वि.सं २०५६ भदौ २० (५ सेप्टेम्बर १९९९) मा हवाई दुर्घटनामा परि निधन भएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया