१० दिनदेखि बेपत्ता डाक्टर कोइरालाको शव कोसीको भंगालोमा फेला
विराटनगर । सुनसरी र उदयपुर जोड्ने चतरास्थित सप्तकोसी पुल नजिकै आफूले चढ्ने कार छाडेर १० दिनअघि बेपत्ता भएका चिकित्सक प्रज्वल कोइरालाको शव सप्तकोसी नदीकै भंगालोमा फेला परेको छ । मोरङको उर्लाबारीस्थित मदन भण्डारी ट्रमा सेन्टरमा करार सेवातर्फ नियुक्त भएका सर्जन डा.कोइरालाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले पुष्टि गरेको छ ।
झापाको दमक नगरपालिका–१ का ३२ वर्षीय डा.कोइराला सप्तकोसी पुलको उदयपुरतर्फको खण्डमा आफ्नो प्रदेश १–०२–००२ च ४१६६ नम्बरको कार छाडेर बेपत्ता भएका थिए ।
मंगलबार साँझ कोसीमा माछा मार्ने व्यक्तिहरुले सुनसरीको बराहक्षेत्र नगरपालिका–२ मा पर्ने कोसीको भंगालोको किनारमा तैरिएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले मृतक डाक्टरका बुवा दिवाकर कोइराला लगायतको सहयोगमा शवको पहिचान गरेको जनाइएको छ ।
शव सनाखत भएपछि पोष्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको जनाइएको छ । शव भेटिएपछि डा.कोइरालाले सप्तकोसी पुलबाट हामफालेर आत्महत्या गरेको पुष्टि भएको जनाएको छ ।
सप्तकोशी पुलमा जडित सीसी क्यामेराको भिडियोमा डा. कोइराला भदौ १० बिहान आफ्नो कार लिएर पुलमा पुगेको देखिएको थियो । उनको सानो झोला, जुत्ता, कपडा र मोबाइलहरु पुलमै भेटिएपछि स्थानीयले इलाका प्रहरी कार्यालय रामपुरमा जानकारी गराएका थिए ।
पुलमा उनको सामग्रीहरु भेटिएपछि प्रहरीले आत्महत्या गरेको हुनसक्ने अनुमान गर्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोर समेत परिचालन गरेर खोजविन हुँदै आएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया