समाज

आफैँ उत्पादन गरेर तरकारी बेच्छन् विद्यार्थी

इकागज |
भदौ २०, २०८० बुधबार १३:२५ बजे

तुलसीपुर- केही विद्यार्थीले तरकारी तौलि रहेका छन् भने केहीले ग्राहकसँग ‘बार्गेनिङ’ गरिरहेका छन् । उनीहरू आफैँले उत्पादन गरेका तरकारी आफैँ बिक्री वितरण गर्दै आएका हुन् । तुलसीपुर उपमहानगरपालिका–४ स्थित गुरुजजुर माविमा कृषि बाली विज्ञान अध्ययनरत विद्यार्थीहरूले चार बिघाभन्दा बढी जग्गा भाडामा लिएर तरकारी खेती गर्दै आएका र उत्पादन भएको तरकारी बजारमा लगेर बेच्ने गरेका छन् ।    
    
कृषि शिक्षा बढी प्रयोगात्मकमा केन्द्रित हुने भएकाले पनि सबै विद्यार्थी मिलेर यसरी कृषि खेती गरिएको र उत्पादित तरकारी आफैँले बिक्री गर्ने गरेको एक विद्यार्थी रेशम विश्वकर्माले बताए । “हाम्रो विषय पनि कृषि भएकाले कृषिलाई कसरी आधुनिकीकरण गर्न सकिन्छ भन्ने पनि थाहा हुन्छ”, उनले भने, “खोज अनुसन्धान गर्न सहज पनि भएको छ ।”    
    
विद्यालयले बीउलगायत अन्य प्राविधिक सहयोगका साथै आवश्यकताअनुसार ऋण पनि दिने गरेकामा विद्यार्थीहरूले त्यो ऋण त्यही उत्पादित वस्तु बिक्री गरेर तिर्नाका साथै बाँकी रहेको रकम कोषमा जम्मा गर्ने गरेका छन् । प्रयोगात्मकका लागि लाग्ने खर्च त्यही कोषबाट ब्यहोर्दै आइएको विद्यार्थी शोभा बुढाथोकीले बताइन् । तुलसीपुर–३ स्थित गोटीखोलामा आठ कट्ठा, रानागाउँमा दुई बिघा १७ कट्ठा, गाडीबरा सामुदायिक वनको एक बिघा जति जग्गा भाडामा लिएर यसरी खेती तथा अन्य प्रयोगात्मक कार्य हुँदै आएको छ ।    
    
 विद्यार्थीहरुले यसअघि ५२ किलो बोडी तथा सिमी बिक्री गरेका थिए । त्यस्तै हाल हलेदो, सयपत्री, आँप, कटहर, अमिला जातका फलफूल, सितलचिनी, खयर, अमला, हर्रोबर्रो, भटमासलगायत खेती गरेका छन् । विद्यालयमा उद्यमी क्लब गठन गरेर यसरी उनीहरु व्यवसायमा जोडिएको विद्यालयका कृषि सङ्काय प्रमुख समीक्षा गुप्ताले बताइन् । सैद्धान्तिक कक्षाबाहेक प्रयोगात्मक कक्षाको समयमा उनीहरुले समूह बनाएर यसरी खेती गर्दै आएका छन् ।    
    
मेहनतअनुसारको फल प्राप्त भएपछि विद्यार्थीहरुलाई थप हौसला मिलेको छ । विद्यार्थीहरुलाई आम्दानी पनि हुने र अनुसन्धान पनि हुने भएकाले पनि व्यावसायिक खेतीलाई प्रोत्साहन गरिएको हो । योसँगै विद्यार्थीहरुले कस्तो ठाउँ र कस्तो मौसममा के खेती हुन्छ भन्ने कुरा पनि थाहा पाउने गरेका छन् ।



Author

थप समाचार
x