समाज

१९ देशमा सञ्जाल रहेको सिटीनेटको नेपाल अध्यक्ष बन्यो विराटनगर महानगर

इकागज |
भदौ २१, २०८० बिहीबार १४:५१ बजे

विराटनगर । एशिया तथा प्रशान्त क्षेत्रका सहरी विकाससम्बन्धी संस्थाहरुको सञ्जालको नेपाल नेतृत्व विराटनगर महानगरपालिकाले पाएको छ । सीटीनेट नेपाल राष्ट्रिय अध्यायको चार वर्षे कार्यकालका लागि विराटनगर महानगरपालिका अध्यक्ष निर्वाचित भएको हो ।

स्थानीय तहरुबीचको परस्पर सहयोग एवं सहरी व्यवस्थापनको व्यवहारिक अनुभव आदान–प्रदान गर्ने उद्धेश्यका लागि २०५८ साल साउन २७ मा सिटीनेट अन्तर्राष्ट्रिय संस्थाको सदस्यका रुपमा नेपाल अध्याय स्थापना भएको थियो । त्यसको बिहीबार विराटनगरमा भएको वार्षिक साधारण सभा तथा नवौं अधिवेशनले विराटनगर महानगरपालिकाको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो ।


उपाध्यक्षमा बुटवल उपमहानगरपालिका, महासचिवमा तानसेन नगरपालिका र कोषाध्यक्षमा भीमदत्त नगरपालिका सर्वसम्मत निर्वाचित भएको जनाइएको छ । सदस्यहरुमा पोखरा महानगरपालिका, भरतपुर महानगरपालिका, वीरगञ्ज महानगरपालिका, विरेन्द्रनगर नगरपालिका, जीतपुर सिमरा उपमहानगरपालिका, ललितपुर महानगरपालिका, हेटौंडा उपमहानगरपालिका, इन्सेक नेपाल र भूकम्प प्रविधि समाज नेपाल (एनसेट) रहेका छन् । साधारणसभामा कार्यसमितिमा रहेका नगरपालिकाहरुका मेयरहरुको उपस्थिति रहेको थियो । 

साधारणसभाले दशौ अधिवेशन पोखरा महानगरपालिकामा आयोजना गर्ने निर्णय भएको जनाइएको छ । सिटीनेटमा एक लाखभन्दा बढी जनसंख्या भएका नगरपालिका आवद्ध हुन पाउने अन्तर्राष्ट्रिय नियम रहेको छ । यसले सदस्य आवद्धता भएका नगरपालिकाहरुसहित संस्थागत सदस्यहरुबाट कार्यसमिति चयन गर्दै आएको निवर्तमान अध्यक्ष एवं हेटौंडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले जानकारी दिइन् ।

साधारण सभाले संस्थाको विधान निर्माण गरी पारित गरेको छ । त्यस्तै आवद्ध सदस्यहरुको सदस्यता शुल्क निर्धारण र सचिवालय स्थापना गर्ने निर्णय गरेको जनाइएको छ ।

सिटीनेट सन् १९८७ मा पहिलो पटक जापानमा स्थापित भएको अन्तर्राष्ट्रिय संस्था हो । हाल यो संस्थाको शाखाहरु नेपालसहित मलेसिया, श्रीलंका, भारत, इन्डोनेसिया, फिलिपिन्स लगायतका देशमा रहेको छ । संस्थामा नगरपालिकाहरुसहित संस्थागत र मानार्थ सदस्यहरुको संख्या १३५ रहेको छ । नेपालमा भने २१ वटा नगरपालिका सदस्य रहेका छन् ।


Author

थप समाचार
x