समाज

वडाध्यक्ष रिजालको अन्त्येष्टि

इकागज |
भदौ २१, २०८० बिहीबार १८:४७ बजे

काठमाडौँ - आज बिहान निधन भएका काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको अन्त्येष्टि गरिएको छ ।

कांग्रेस काठमाडौँ क्षेत्र नं ७ का क्षेत्रीय सभापतिसमेत रहेका वडाध्यक्ष रिजालको दुवै फोक्सोमा सिभियल निमोनिया (भाइरल निमोनिया)का कारण निधन भएको थियो ।


यसअघि स्व रिजालको शवलाई श्रद्धाञ्जलीका लागि काठमाडौँ महानगरको तर्फबाट राष्ट्रिय सभागृह र पार्टीको तर्फबाट पशुपतिमा राखिएको थियो । 

राष्ट्रियसभा गृहमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले नेपालको राष्ट्रिय झण्डा ओढाएका थिए भने पशुपतिमा कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसको झण्डा ओढाएका  थिए । 

वडाध्यक्ष रिजालको पार्थिव शरीरमा उनका छोरा सन्देश र सार्थक रिजालले दागबत्ती दिएका छन् । उनको अन्तिम संस्कारमा पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, पूर्वमहामन्त्रीहरू डा शशांक कोइराला र प्रकाशमान सिंह, नेताहरू शङ्कर भण्डारी, नैनसिंह महर, उर्मिला थपलिया, बागमती प्रदेशका मन्त्री बहादुरसिंह लामालगायत केन्द्रीय र प्रदेशका नेता तथा मन्त्रीको सहभागिता थियो ।

विसं २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिका वडा नं १६ बाट वडाध्यक्षका रुपमा निर्वाचित भएका थिए । ५३ वर्षीय स्वर्गीय रिजालका बुबा, आमा, श्रीमती र दुई छोरा छन् । 


Author

थप समाचार
x