निजामती सेवालाई प्रविधिमैत्री बनाउनुपर्छ : मुख्यसचिव अर्याल
काठमाडौँ- मुख्यसचिव डा वैकुण्ठ अर्यालले निजामती सेवालाई प्रविधिमैत्री बनाउँदै लैजानु पर्ने आवश्यकता रहेको बताएका छन् ।
सार्वजनिक सेवा प्रवाहलाई चुस्तदुरुस्त एवं प्रभावकारी बनाउन प्रविधिको प्रयोगमा जोड दिनुपर्ने उनको भनाइ छ । रासससँग कुराकानी गर्दै मुख्यसचिव डा अर्यालले निजामती सेवाको परम्परागत कामको तौर तरिकालाई आधुनिकीकरण गर्दै लैजान प्रविधिको प्रयोगमा जोड दिएका हुन् ।
'हाम्रा परम्परागत कामको तौर तरिकालाई आधुनिकीकरण गर्दै लैजान आवश्यक छ,' उनले भने, 'हामी लामो समयदेखि एउटै प्रक्रिया र पद्धतिबाट सञ्चालित हुँदा सार्वजनिक सेवा प्रवाह जनमुखी बन्न सकेको छैन । त्यसैले सबै क्षेत्रमा प्रविधिको प्रयोग गरी सेवा प्रवाहलाई सहज र सरल बनाउनु आवश्यक छ ।'
मुख्यसचिव डा अर्यालले निजामती प्रशासन सेवाका कर्मचारीलाई जनताले अनुभूत गर्ने गरी सेवा प्रवाहलाई सहज र सरलीकृत बनाउन सुझाव दिए । 'कर्मचारीले शासकको व्यवहार गर्छन् भन्ने सोच बदलेर हामी सेवाग्राहीको पक्षमा छौँ, शासक होइनौ भन्ने विश्वास दिलाउन जनताले अनुभूति गर्नेगरी अगाडि बढ्नुपर्छ,' उनले भने ।
उनले आफ्नो कार्यकालमा निजामती सेवालाई कार्य सम्पादनमुखी कर्मचारीतन्त्रका रूपमा परिवर्तन गर्न आफू लागि पर्ने बताए । प्रशासन क्षेत्रलाई अब्बल, सक्षम र सबल बनाउन आफू प्रयासरत रहेको उनको भनाइ छ ।
सरकारले विसं २०६२ देखि हरेक वर्षको भदौ २२ मा निजामती कर्मचारी दिवस मनाउँदै आएको छ । विसं २०१३ भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्यको सरकारले निजामती ऐन ल्याएको अवसरमा यो दिवस मनाउन लागिएको हो ।
दिवसका अवसरमा उत्कृष्ट निजामती कर्मचारीलाई पुरस्कृत, सम्मान र सेवानिवृत्तलाई सम्मान गर्दै आइएको छ । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया