समाज

`चित्रलेखाको चौरासी´का लेखक पराजुलीसँग गैंडाकोटमा अन्तरक्रिया

इकागज |
भदौ २३, २०८० शनिबार ७:२२ बजे

गैंडाकोट। लेखक प्रज्वल पराजुलीको पछिल्लो पुस्तक `चित्रलेखाको चौरासी´को अन्तरक्रिया गरिएको छ । सम्पूर्ण किताब नारायणगढको आयोजनामा शुक्रबार साँझ नारायणी रिसोर्टमा गरिएको कार्यक्रममा लेखक पराजुलीसँग टिप्पणीकार रमेश प्रभातले कुराकानी गरेका हुन् । पराजुलीको ‘ल्याण्ड ह्वेर आई फ्ली’ उपन्यासको नेपाली अनुवाद हो चित्रलेखाको चौरासी । 

यो उपन्यासको मुख्य कथा चौरासी वर्षीया हजुरआमा चित्रलेखा न्यौपानेको वरिपरि घुमेको छ । उनी भारतको सिक्किम राज्यको गान्तोकमा बस्छिन् भने उनको गार्मेन्ट फ्याक्ट्री पश्चिम बङ्गालको कालिम्पोङ सहरमा छ । उनका चार जना नातिनातिनामध्ये तीन जनालाई मात्र उनको चौरासी पूजामा बोलाइएको हुन्छ । जेठी नातिनी भगवती दलितसँग विवाह गरेका कारण अठार वर्षदेखि घरमा आउन पाएकी हुन्नन् भने माहिली नातिनी मनसाको मागी विवाह भएका कारण आवतजावत भइरहन्छ । टिप्पणीकार प्रभातले लेखकसँग पुस्तकले समेटेको कथावस्तुसँगै पश्चिमी मुलुकमा बसेर लेख्दाको अनुभवलाई पनि खोतल्ने प्रयास गरेका थिए । 


कुराकानीका क्रममा उपन्यासमा मानवअधिकारको सबैभन्दा ठूलो ठेकेदार ठान्ने अमेरिकाले आप्रवासीलाई हेप्ने गरेको प्रसङ्गका बारेमा चर्चा गरिएको थियो । भुटानमा नेपालीभाषीले पाएको दुःख देखाइएको उपन्यासमा माओवादी द्वन्द्वको झिल्का पनि देखाइएको छ । मूल रूपमा भारतीय नेपाली भाषीले भोग्ने जीवनलाई उतारिएको प्रसङ्गका विषयमा रहेर प्रभातले लेखक पराजुलीसँग एक घन्टा संवाद गरेका थिए ।

कार्यक्रममा उदय अधिकारी र भुपेन्द्र धितालले पनि मन्तव्य राखेका थिए । मुख्यगरि सिक्किमको गान्तोकको परिवेशलाई उठान गरिएको उपन्यासमा नेपाली संस्कृतिको चित्रण गरिएको अधिकारीले बताए । हिन्दू परम्परा, जात व्यवस्था र अन्धविश्वासलाई पनि उपन्यासमा उतारिएको उनले बताए ।

युरोपमा बस्दै आएका सिक्किम गान्तोकका पराजुलीका दुईवटा अङ्ग्रेजी पुस्तक `द गुर्खाज डटर´लाई `गोर्खाकी छोरी´ र `ल्याण्ड ह्वेर आई फ्ली´लाई `चित्रलेखाको चौरासी´ नाम राखेर पब्लिकेसन्स नेपालयले नेपाली भाषामा ल्याएको छ । चित्रलेखाको चौरासीलाई विभु लुइँटेलले अनुवाद गरेकी हुन् । काठमाडौंमा विमोचनपछि मोफसलमा अन्तरक्रिया गर्दै हेटौंडा हुँदै लेखक पराजुली शुक्रबार गैंडाकोट आएका हुन् । लेखक पराजुली शनिबार पोखराका पाठकमाझ अन्तरक्रियामा सहभागी हुँदैछन् ।


Author

थप समाचार
x