समाज

पुल नहुँदा जोखिम पूर्ण रूपमा खोला तर्दै बालबालिका

इकागज |
भदौ २३, २०८० शनिबार १६:३५ बजे

फाइल तस्बिर

बैतडी- पुल नहुँदा बैतडीको सिगासका बालबालिका जोखिम पूर्ण रूपमा खोला तरेर विद्यालय जान बाध्य भएका छन् । सिगास गाउँपालिका–६ मा रहेको गणेश माध्यमिक विद्यालय मौरीबगरमा अध्ययनरत विद्यार्थी न्वाघरीगाड खोलामा पुल नहुँदा जोखिम मोलेर विद्यालय जना बाध्य भएका हुन् ।

उक्त खोलामा रहेको आरसिसी पुल दुई वर्षअघि बगाएको वडा नं ६ का वडाध्यक्ष तेजबहादुर साउदले बताए । उनका अनुसार उक्त खोलामा पुल नहुँदा वडा नं ६ र ७ का बालबालिका जोखिम पूर्ण रूपमा खोला तर्न बाध्य भएका हुन् । 


अस्थायी रूपमा बनाइएको काठेपुल पनि एक महिनाअघि खोलाले बगाउँदा विद्यालय जाने बालबालिकाले सास्ती पूर्ण यात्रा गर्नुपरेको विद्यालयका शिक्षिका लक्ष्मी चन्दले बताइन् । 'उक्त खोलामा रहेको पक्की पुल दुई वर्ष अगाडिको बाढीले बगाएको थियो, त्यसपछि अस्थायी रूपमा काठेपुल राखिएको भए पनि एक महिना अगाडिको बाढीले लग्यो,' उनले भनिन्, 'लामो समयदेखि खोलामा पुल नहुँदा बालबालिका दिनहुँ खोला तरेर विद्यालय आउजाउ गर्छन् । पानी परेपछि खोलामा पानीको बहाव बढेपछि विद्यार्थीलाई आवागमनमा थप सास्ती हुने गरेको छ ।'

उक्त विद्यालयमा बैतडीका मात्रै नभएर डोटीको आदर्श गाउँपालिकाका बालबालिका पनि अध्ययनका लागि आउने गरेका वडाध्यक्ष साउदले बताए । उनले भने, 'बैतडी, बझाङ र डोटीको सिमानामा यो विद्यालय छ । पुल बगाएपछि त्यहाँबाट आउने विद्यार्थीसमेत जोखिम मोलेर आउने गरेका छन् ।'

पुल नहुँदा समस्या भएकाबारे सम्बन्धित निकायलाई जानकारी गराइएको भए पनि कुनै सुनुवाइ नभएको स्थानीयको आरोप छ । वडाध्यक्ष साउदले न्वाघरीगाड खोलामा आरसिसी पुल निर्माणका लागि बजेट आएको भए पनि राजनीतिक अस्थिरताका कारण बन्न नसकेको बताए । उनले भने, 'दुई स्थानमा पुल बनाउने भनेर रु २० लाख बजेट आएको हो । सर्भे गरियो, निर्माण गर्ने भनेर समिति पनि बन्यो । हालसम्म काम अगाडि बढ्न सकेको छैन ।'

गाउँपालिका अध्यक्ष हरिसिंह धामीले न्वाघरीगाड खोलामा पुल निर्माणका लागि पहल थालिएको बताए । उनले भने, 'पुल निर्माणका लागि प्रदेश र सङ्घ सरकारलाई अनुरोध गरेका छौँ । आशा छ छिट्टै पुल निर्माण हुनेछ ।' रासस


Author

थप समाचार
x